सिधाकुरा प्रकरण : समाचार स्रोत प्रहरी हिरासतमा, समाचार प्रकाशित गर्ने प्रकाशक र सम्पादक तारेखमा

सिधाकुरा प्रकरण : समाचार स्रोत प्रहरी हिरासतमा, समाचार प्रकाशित गर्ने प्रकाशक र सम्पादक तारेखमा

काठमाडौँ :  पत्रकार आचार संहिता विपरीत 'सिधाकुरा' नामक अनलाइनका प्रकाशक र सम्पादकले खुलाएको समाचारको स्रोतलाई सर्वोच्च अदालतले प्रहरी हिरासतमा पठाएको छ। डार्क फाइलको नाममा न्यायाधीश, सञ्चार गृहका प्रकाशक र पत्रकार लगायतलाई अदालतको मुद्दा सेटिङमा जोड्दै प्रकाशित र प्रसारित सामग्री विवादमा परेपछि अदालतमा मानहानिको मुद्दा चलिरहेको छ।

समाचार प्रकाशित गर्नु अगाडि स्रोतबाट प्राप्त सामाग्रीको परीक्षण गरी पुष्टि भएको अवस्थामा प्रकाशित/प्रसारित गर्ने र समाचार प्रकाशन र प्रसारणपछि कुनै विवाद भएमा गोप्य स्रोतको संरक्षण गर्ने दायित्व सम्बन्धित सञ्चार गृहको प्रकाशक र सम्पादकको हो।

पत्रकार आचार संहितामा प्रस्ट समाचारको विश्वसनीयताको लागि स्रोत उल्लेख गर्नुपर्ने तर त्यसरी उल्लेख गर्दा स्रोतलाई गम्भीर क्षति हुने देखिएमा स्रोतको नाम वा पहिचान गोप्य राखी संरक्षण गर्नुपर्ने उल्लेख छ।

सो सम्बन्धमा अदालतले मानहानिको मुद्दा प्रक्रिया अगाडि बढाएपछि इजलासले सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानमा बोलाएको थियो। बयानकाक्रममा उनीहरूले सो अडियो दिने स्रोत खुलाएपछि अदालतले स्रोत व्यक्तिलाई आइतबार बयानका लागि अदालतमा बोलाएको थियो।

अदालतको आदेश अनुसार उनी बयानका लागि सोमबार अदालतमा उपस्थित भए पनि उनको बयान नसकिएपछि प्रहरीको जिम्मा लगाउन इजलासबाट आदेश आयो। कँडेल र ढुङ्गानाको हकमा बयान सकिएकाले सोमबार उपस्थित हुनेगरि तारिखमा छाड्न आदेश दियो।

अडियोसहितको समाचार विवादमा परेपछि सिधाकुराले सो सामाग्री आफ्नो सञ्चारमाध्यमबाट हटाइसकेको छ। मानहानिको सुनुवाइकोक्रममा मुद्दा टु‌गो नलागी अदालतले प्रकाशित सामग्री हटाउन र सो विषयमा समाचार प्रकाशित नगर्न रोक लगाउँदै दिएको आदेशको विरोध भइरहेको छ।

प्रकाशित कुनै सामाग्रीबारे छानबिन र अनुसन्धान गर्न सकिने भए पनि सामाग्री गलत हो या सत्य हो भन्ने टुङ्गो नै नलागी पूर्व प्रतिबन्ध लगाउन कानुनले रोक लगाए पनि अदालतले मुद्दा नटुङ्गिँदै सामाग्री प्रकाशनमा रोक लगाउन दिएको आदेश स‌ंविधानविपरत भएको भन्दै नेपाल पत्रकार महासङ्घ कानुनी उपचारमा जाने तयारीमा रहेको महासङ्घका महासचिव रोशन पुरीले शनिवार एक कार्यक्रममा बताएका थिए।

२३ बैशाख, २०८१, १९:१९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।