गायन र मोडलिङबाट उदाएका प्रकाश सपुत फिल्म निर्माणमा हाम फाले

गायन र मोडलिङबाट उदाएका प्रकाश सपुत फिल्म निर्माणमा हाम फाले

काठमाडौं : गायकबाट नायक बनेका थुप्रै कलाकारहरू छन् तर, सफल भएकाहरू भने धेरै कम। गायकबाट नायक हुने रहर उदित नारायण झा, रामकृष्ण ढकालदेखि बाबु बोगटी, यस कुमारसम्मले गरे। उनीहरू गायकबाट नायकमा जम्न सकेनन्। त्यसपछि आफ्नै पेसामा अडिक रहे। 

उनीहरुको सिको गर्दै फिल्मको हिरो बन्ने सपना बुनेका प्रकाश सपुतले पनि गत वर्ष रिलिज भएको फिल्म ‘परदेशी २’मा अभिनय गरे। उनको अभिनयले भन्दा पनि फिल्मको गीतले चर्चा पायो। उनको अभिनयलाई दर्शकले ठिकठिकै माने। 

गीत र गीतको भिडियोमा मोडलिङ गर्दै चर्चा बटुलेका प्रकाश अब भने आफैं फिल्म बनाउने तयारीमा छन्। उनी मोहन विश्वकर्मा, अनुरोध भट्टराई, नेन्सि शेरचनलाई कार्यकारी निर्माता बनाउँदै नयाँ फिल्मको तयारीमा हुन्। 

केहि दिनअघि प्रकाश निकट मानिने अभिनेत्री स्वस्तिमा खड्कालाई फिल्मका लागि अनुबन्ध गरेको चर्चा चलेको थियो। हो होइन यकिन छैन। कुन फिल्म निर्माण गर्न लागेको हो भन्ने चर्चा चलिरहेको बेला उनले आज फिल्मको नाम घोषणा गर्दैछन्। 

गलबन्दी प्रोडक्सनको पहिलो फिल्म काठमाडौंमा पत्रकार सम्मेलनको गर्दै उनले फिल्मको नाम र कलाकारको बारेमा जानकारी दिने बताएका छन्। उनले निर्माण गर्ने फिल्मको नाम के होला।  

उनको गीतका नाम जस्तै ‘कुरा बुझ्नपर्छ, गलबन्दी, जाले रुमाल फाट्यो, दमाई महाराज’ त हुने होइन? या कस्तो नाम राख्लान् त? जे होस् प्रकाशलाई पहिलो फिल्मको शुभकामना।   

२३ बैशाख, २०८१, १०:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।