नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौथो टी२० खेल आज

नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौथो टी२० खेल आज
तस्बिर- नेपाल क्रिकेट संघको फेसबुकबाट।

काठमाडौं : नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको चौथो खेल आज (बिहीबार) हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा बाह्र बजेदेखि शुरु हुनेछ।

गत शनिबारबाट जारी पाँच खेलको मैत्रीपूर्ण टी२० सिरिजमा तीन खेल खेलेको वेष्ट इण्डिज ए टोलीले दुई खेलमा जित दर्ज गराएको छ भने घरेलु टोली एउटा मात्र जित निकालेको छ।

वेष्ट इण्डिजले नेपाललाई आइतबार भएको पहिलो खेलमा १० रन र  बुधबार भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो।

शनिबार भएको सिरिजको पहिलो खेलमा भने नेपालले चार विकेटको जित निकालेको थियो। यी दुई बीचको पाँचौं तथा अन्तिम खेल पनि शनिबार हुनेछ।

सिरिजको चौथो खेलमा घरेलु टोली नेपाल जित्नैपर्ने दबाबमा छ। 

आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिजबीच मैत्रीपूर्ण खेल नेपालमा भइरहेको हो। विश्वकप खेल्ने टोली आइसकेकाले अबका दुई खेल विश्वकप खेल्ने टोलीले नै खेल्ने अपेक्षा गरिएको छ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यही समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन्। वेष्ट इण्डिज भने समूह ‘सी’ मा छ। यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्युगिनी र युगाण्डा छन्।

विश्वकप जुन २ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ।

२० बैशाख, २०८१, ०७:४१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।