अष्ट्रेलियाको विश्वकप खेल्ने टोलीमा ठूला नाम नै छुटे, मिचल मार्सले गर्दैछन् कप्तानी

अष्ट्रेलियाको विश्वकप खेल्ने टोलीमा ठूला नाम नै छुटे, मिचल मार्सले गर्दैछन् कप्तानी

काठमाडौं : अर्को महिना वेस्ट इन्डिज र अमेरिकामा हुने टी२० विश्वकपका लागि अष्ट्रेलियाले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ।

मिचेल मार्सको कप्तानीमा रहेको टोलीमा केही ठूला नाम नसमेटिएर सरप्राइज गरिएको छ।

टोलीमा अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथ, युवा ब्याटर जेक फ्रेजर म्याकगुर्क, अनुभवी फास्ट बलर जेसन बेहरेनडोर्फ र अलराउन्डर म्याट सर्टलाई छुटाइएको छ।

अष्ट्रेलियन क्रिकेट बोर्डको यो टोली देखेर त्यहिँका पूर्व क्रिकेटरहरू आश्चर्यमा परेका छन्।

२०२२ मा अष्ट्रेलियामै भएको पछिल्लो विश्वकपपछि कुनै पनि टी२० अन्तर्राष्ट्रिय खेल नखेलेका बायाँ हाते स्पिनर एश्टन एगरलाई टीममा स्थान पाएका छन्।

जारी इन्डियन प्रिमियर लिगमा खराब फर्ममा रहेका अलराउन्डर मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल र क्यामरन ग्रिनले पनि टोलीमा समेटिएका छन्।

छनोट समितिका अध्यक्ष जर्ज बेलीले अष्ट्रेलियासँग सन्तुलित टोली रहेको र टी२० विश्वकपको नवौं संस्करणमा बलियो प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए।

समूह ‘बी’मा रहेको अष्ट्रेलियाले टी२० विश्वकपको पहिलो खेल जुन ५ मा बार्बाडोसमा ओमानविरुद्ध खेल्नेछ। समूहमा इङ्ल्यान्ड, नामिबिया र स्कटल्याण्ड पनि छन्।

सबै टोलीहरूले मे २५ सम्म आफ्नो टोलीमा परिवर्तन गर्न सक्नेछन्। तर, त्यसपछि भने कुनै पनि परिवर्तन गर्न आईसीसीको इभेन्ट प्राविधिक समितिबाट स्वीकृति लिनुपर्नेछ।

यस्तो छ अष्ट्रेलियाको टोली:-
मिचेल मार्स (कप्तान), एस्टन आगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यू वेड, डेभिड वार्नर, एडम जाम्पा

१९ बैशाख, २०८१, ०८:३३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।