हिरो मोटोकर्पद्वारा नवलपरासीमा एसेम्बल प्लान्ट उद्घाटन

हिरो मोटोकर्पद्वारा नवलपरासीमा एसेम्बल प्लान्ट उद्घाटन

काठमाडौं : दुई पाङ्ग्रे सवारी उत्पादन गर्ने हिरो मोटोकर्पले नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा नेपालमा एसेम्बल प्लान्टको उद्घाटन गरेको छ।

हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेल्डर प्लस मोटरसाइकल र जुम ११०  स्कुटर बजारमा ल्याएको हो।

अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यासिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले जनाएको छ।

प्रति वर्ष ७५ हजार युनिट उत्पादन क्षमता रहेको प्लान्टले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्ने कम्पनीको विश्वास छ। सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै कम्पनीले नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तारको योजना अघि बढाएको छ।

सहकार्यको बारेमा आफ्नो धारणा राख्दै, हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो। यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ।’

त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण भएको बताउँदै एसेम्बल सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित रहेको बताए।

सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ। साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने लक्ष्य लिएको छ।

सन् २०१४ मा नेपालमा प्रवेश गरेको हिरो मोटोकोर्पले वर्षौंदेखि सुपर स्प्लेन्डर र एक्सपल्स २०० मोटरसाइकलहरू जस्ता सर्वाधिक रुचाइएका प्रतिष्ठित उत्पादनका साथ आफूलाई देशकै अग्रणी मोटरसाइकल ब्रान्डको रूपमा स्थापित गरेको छ।
 

१० बैशाख, २०८१, १२:२७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।