गणेशमान राष्ट्रिय टी–२० क्रिकेट : गण्डकीमाथि सुदूरपश्चिमको सहज जित, कोशीलाई लुम्बिनीले हरायो

गणेशमान राष्ट्रिय टी–२० क्रिकेट : गण्डकीमाथि सुदूरपश्चिमको सहज जित, कोशीलाई लुम्बिनीले हरायो

काठमाडौं : सुदूरपश्चिम प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय पुरुष टी–२० प्रतियोगितामा शनिबार सहज जित हात पारेको छ।

दुई खेल खेलेको सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्यो। दुई खेलमा सुदूरपश्चिमको यो पहिलो जित हो।

माथिल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको गण्डकीले १८.३ ओभरमा अलआउट हुनुअघि ११७ रनको योगफल खडा गरेको थियो।

शीर्ष ३ मा ब्याटिङ गरेका अर्जुन कुमाल, ईश्वर क्षेत्री र दीपक डुम्रेलाई सस्तैमा गुमाएको गण्डकी कुनै समय १९–३ को स्थितिमा थियो।

गण्डकीका कप्तान विपिन खत्रीले अविजित १९ बलमा ३० रन तथा रोशन गौतमले २३ बलमा २८ रन बनाए। यस्तै, करन पंगेनी र दीनेश बुढा मगरले समान १५/१५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका नरेन भट्टले मात्र १ रन खर्चिएर २ विकेट लिए। नारायण जोशी र शेर मल्लले पनि समान २÷२ विकेट हात पारे।
जवाफमा ११८ रनको लक्ष्य सुदूरपश्चिमले १९ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। 

सुदूरपश्चिमलाई सहज जित दिलाउने क्रममा ‘प्लेयर अफ दी म्याच’ चुनिएका अभिषेक पालले सर्वाधिक ४९ रन बनाए। वसन्त कार्कीले अविजित ३७ र राजु रिजालले अविजित २९ रन बनाए।

कोशीमाथि लुम्बिनीको जित
अर्को खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई ५० रनले पराजित गर्यो। कोशीको दुई खेलमा लगातार दोस्रो हार हो।

लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३८ रन जोडेको थियो। लुम्बिनीको ब्याटिङमा कप्तान देव खनालले २२ बलमा ४५ रन जोडे। दिलशाद अलीले १७ र कृष्ण कार्कीले अविजित १६ रन बनाए।

कोशीका दीपेश कँडेलले २ विकेट लिए। फिर्दोश अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, श्रवण  यादव, सौजन घिमिरे र अंकित सुवेलीले समान १/१ विकेट हात पारे।

प्रत्युत्तरमा १३९ रनको लक्ष्य पछ्याएको मैदान उत्रिएको कोशी एक समय ४०–७ को अवस्थामा थियो। कोशी प्रदेशले १९.४ ओभरमा पूरै विकेट गुमाउँदै ८८ रन मात्र जोड्यो। 

कोशीका लागि समिर कार्कीले सर्वाधिक २३ रन, सौजन घिमिरेले १६ रन तथा अंकित सुवेदीले ११ रन जोडे।

कोशीलाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीका देव खनाल, नर सार्की र अविशेष गौतमले समान २/२ विकेट लिए। अल राउण्ड प्रदर्शन गरेका लुम्बिनीका कप्तान देव खनाल खेलको प्लेयर अफ दी म्याच घोषित भए।

८ बैशाख, २०८१, २१:५२:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।