एसीसी प्रिमियर कप : हङकङसँग ४ विकेटले पराजित भएपछि तेस्रो स्थान पनि गुमायो नेपालले

एसीसी प्रिमियर कप : हङकङसँग ४ विकेटले पराजित भएपछि तेस्रो स्थान पनि गुमायो नेपालले

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। 

 १४० रनको लक्ष्य पाएको हङकङले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो। हङकङका लागि अन्सुमन राथले नटआउट रहँदै सर्वाधिक ६५ रन बनाए। 

त्यस्तै, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए। नेपालका लागि सोमपाल कामीले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनायो। नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले यस क्रममा ४ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै, कुशल भुर्तेल शून्य रनमा आउट भएका थिए भने तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए। लगत्तै ५ रन बनाएर आसिफ शेख पनि पेभेलियन फर्किए।

त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङस् सम्हाल्ने प्रयास गरेका थिए। जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाए।

कुशल मल्ल १३ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो।

योसँगै नेपालले श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स टी-२० एसिया कप पनि गुमाएको छ। 

८ बैशाख, २०८१, २०:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।