नेपाली क्रिकेटका 'टाइगर' दीपेन्द्रको विश्व क्रिकेट वरीयतामा नयाँ कीर्तिमान

नेपाली क्रिकेटका 'टाइगर' दीपेन्द्रको विश्व क्रिकेट वरीयतामा नयाँ कीर्तिमान

काठमाडौँ : टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर तर्फको वरीयतामा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीले १४ औँ स्थान सुधार गरेका छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको टी–२०  नयाँ वरीयतामा दीपेन्द्र १४ औँ स्थान सुधार गर्दै ११ औँ स्थानमा उक्लिएका छन्। त्यसैगरी ब्याटिङतर्फको विश्व वरीयतामा १६ स्थान सुधार गर्दै ऐरी ६२ औँ स्थानमा उक्लिएका छन्। 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य रहेका ऐरी हाल ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।

उनले उक्त प्रतियोगताअन्तर्गत कतारविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्तिमान राखेका छन्।  

गत शनिबार कतारविरुद्धको खेलमा उनले एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

त्यो सँगै ऐरी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्।

ऐरी नेपाली क्रिकेटमा 'टाइगर' उपनामले चर्चित छन्।

यता, आईसीसीले जारी गरेको ब्याट्सम्यानको नयाँ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३ औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५ औँ स्थानमा उक्लेका छन्।

त्यस्तै, कुशल मल्ल ९ स्थान सुधार गर्दै १०० औँ स्थानमा पुगेका छन्। 

५ बैशाख, २०८१, १६:५६:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।