स्वास्थ्यमन्त्री उपेन्द्रलाई पत्रकार सम्मेलनमा प्रश्न : 'मेडिकल उपकरण खरिद सेटिङमा छोरालाई खटाएको हो​​​​​​​?'

स्वास्थ्यमन्त्री उपेन्द्रलाई पत्रकार सम्मेलनमा प्रश्न : 'मेडिकल उपकरण खरिद सेटिङमा छोरालाई खटाएको हो​​​​​​​?'

काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त भएपछिको पहिलो पत्रकार सम्मेलनमै उपेन्द्र यादवले स्वास्थ्य  मेसिन, औजार, उपकरण  लगायत स्वास्थ्य सामग्री खरिद सेटिङ मिलाउन छोरा परिचालन गरेको आरोप खेप्नुपर्यो।

उपेन्द्रको स्वास्थ्य मन्त्रालयमा प्रवेश भएसँगै उनका छोरा अमरेन्द्र मेडिकल उपकरणका आपूर्तीकर्ता, टेण्डर आव्हान तीब्र बनाएका सरकारी अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट, स्वास्थ्य सेवा विभागका कर्मचारीसँगको भेटघाट बाक्लिएको भन्दै पत्रकारहरूले मंगलबारको पत्रकार सम्मेलनमै छोराको नामै लिएर सेटिङमा खटाएको बारे प्रश्न सोधेका थिए।

अमरेन्द्र र उमेश अग्रवालबीच बाक्लो उठबससँगै सरकारी अस्पतालहरूमा उनलाई टेण्डर दिन दबाब दिएको गुनासो बढ्दो क्रममा छ। 

सेटिङमा छोराको नाम आएसँगै उपेन्द्र अलि मलिन देखिए। उनले आफू मन्त्री भएपछि मेसिन, औजार तथा उपकरणको खरिद नभएको बताए।

उनले भने जस्तै यसबीचमा खरिद नभएको सत्य हो। तर उनी मन्त्री भएपछि खरिदको टेन्डर तीब्र गतिमा निस्किरहेको छ। 

स्वास्थ्य मन्त्रालयको उनकै कार्यकक्षमा स्वास्थ्य पत्रकारसँगको अन्तरक्रियात्मक कार्यक्रममा छोराको नाम आएपछि मन्त्री यादवले भने, ‘हैन हैन।’

यस अगाडिका स्वास्थ्यमन्त्री मोहन बस्नेतको कार्यकालमा अधिकांश खरिद मिलेमतोमा भएको खुलेको थियो।

यादव मन्त्री बनेपछि नै पूर्वमन्त्री बस्नेतको पालामा प्रक्रिया अगाडि बढेका खरिद सम्झौताहरू भएका थिए। उनी मन्त्री बनेपछि सार्वजनिक आव्हान भएका टेण्डर समेत शङ्कास्पद देखिएका छन्। 

मन्त्री यादवले आफू मन्त्री बन्नुपूर्व नै मेसिन, औजार तथा उपकरण खरिदको प्रक्रिया अगाडि बढेको र ती खरिदका विषयमा आफ्नो नाम जोडिए त्यो अन्याय हुने तर्क गरे।

‘म आएपछि इक्विप्नेट खरिद सुरु भएको छैन। पहिल्यै भइसकेको थियो,’ मन्त्री यादवले भने, ‘त्यो यताको (मेरो) थाप्लोमा राखिदिनुभयो भने अन्याय हुन्छ।’

मन्त्री यादवका छोरा अमरेन्द्र यादव (दिपेश यादव) हुन्। 

'मेसिन थन्क्याउन हैन चलाउन हो'
उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा खरिद भएको मेसिन, औजार तथा उपकरण थन्किएको  सुनेको बताउँदै थन्क्याउन नभई प्रयोग गर्न खरिद हुनुपर्ने बताए। आवश्यकता पहिचान गरेर मात्रै खरिद गर्नुपर्ने उनको भनाई छ।

‘आवश्यक इक्विप्मेन्ट खरिद हुनुपर्छ,’ मन्त्री यादवले भने, ‘कतिपय ठाउँमा सुनेको छु, मेसिनहरू थन्किएका छन्। थन्क्याउनलाई हैन, सेवामा प्रयोग गर्नलाई मेसिन किन्ने हो।’ 

मेसिन औजार तथा उपकरणको गुणस्तर लगायतको परीक्षणका लागि नेपालमा संयन्त्र नभएको मन्त्री यादवले बताए।

'औषधीकोलाई त डिडिएले हेर्छ,’ मन्त्री यादवले भने, ‘तर इक्विप्मेन्टहरुको स्पेशिफिकेशन हेर्ने संस्था (संयन्त्र) छैन। त्यो मेकानिज्म नभएपछि यस्सो हेरेर त थाहा हुँदैन। त्यो मेकानिज्म बनाउनुपर्छ।’ 

नेपालमा स्वास्थ्य क्षेत्रका मेसिन, औजार तथा उपकरणको चेक जाँच गर्ने जनशक्तिको अभाव भएका कारण समेत समस्या भइरहेको उनले बताए।

मेसिनको गुणस्तरीयता परीक्षण नगर्दा सप्लायर्स र सीमित प्रयोगकर्ता लगायतलाई नै मेसिन गुणस्तरीय छ की छैन भन्ने विषयमा भर पर्नुपर्ने, स्वास्थ्य संस्थाहरूमा कहाँ-कहाँ के-के मेसिन औजार तथा उपकरण लगायत खरिद भएका छन् र कस्तो अवस्थामा छन् भन्ने विषय विज्ञको टोलीले जाँच गर्नुपर्ने बेला आएको उनले बताए। 

मेसिन, औजार तथा उपकरण खरिद गर्दा कुन कम्पनीले वारेन्टी बढी दिन्छ, कुन कम्पनीले सेवा बढी दिन्छ त्यसलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।

मन्त्री यादवले स्वास्थ्य क्षेत्रको मेसिन, औजार तथा उपकरण र औषधिजन्य सामग्रीको खरिद प्रक्रियामा कानुनी समस्या रहेको बताएका छन्।

४ बैशाख, २०८१, २०:३०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।