वर्ष २०८० : अभिनयमा दयाहाङको निरर्थक ह्याङ, निर्देशनमा फिडेलले बढाए आश

वर्ष २०८० : अभिनयमा दयाहाङको निरर्थक ह्याङ, निर्देशनमा फिडेलले बढाए आश

काठमाडौँ : आजको फिल्म भोलिका लागि दृष्य इतिहास हो भन्ने मान्ने हो भने २०८० त्यति उपलब्धीमुलक वर्ष रहेन।

बुलाकी, अन्तिम संस्कार, जुलेबी अनि राजनीतिक रुपमा दिमाग खराबले एक हदसम्म २०८० का फिल्मको प्रतिनिधित्व गर्न सक्छन्। 

आज रिलिज भएको डिग्री माइला र द रेड सुटकेससहित यो वर्ष ५१ वटा फिल्म रिलिज भएकोमा व्यापारिक रुपमा पाँच फिल्म मात्र सफल देखिए। जसले वर्षको प्रतिनिधित्व गर्न सक्ने देखिन्छ।

ती फिल्ममध्ये दिमाग खराबबाहेक अन्य फिल्म बक्स अफिसमा सफल हुन सकेनन्।

आर्थिक रुपमा जारी, महाजात्रा, दिमाग खराब, नाङगो गाउँ र बगान सफल देखिए। तर फिल्मको गुणस्तरका दृष्टिमा यी सबै मध्यमतहका फिल्म हुन्। निर्माणको दृष्टिले दिमाग खराब केही हदसम्म गतिलो फिल्म भए पनि निश्चित दलको अजेण्डा स्थापित गर्ने मनसायले फिल्म बनाउँदा किरकिर लाग्यो।

रेड सुटकेस, बहाव, अगस्त्य, जुलेबी, एक भागवत्, एक गीता अनि रंगेली जस्ता फरक धारका फिल्मको प्रारम्भको प्रयास पनि भयो। केहीले दर्शकबाट राम्रो प्रतिक्रिया पनि पाए।

२०८० मा जारी, विहेपास, बुलाकी, कैदीको पत्र प्रसाद २, नाई नभन्नु ल ६, टुल्की, वेलकम टु हेम्जा, अन्तिम संसार, बगान, बहाव, अदृष्य, जुलेबी, ऐँचौ पैँचो, एक भागवत्, एक गीता, नांगो गाउँ, भष्मे डन, दिमाग खराब, दुई कदम, दयारानी, अगस्त्य, रंगेली, उपहार, महाजात्रा र अन्तिम दिन द रेड सुटकेस र डिग्री माइला लगायत रिलिज भए।

ब्यापारको दृष्टिले जारी १७ करोड ग्रस कलेक्सनसहित पहिलो स्थानमा रहँदा महाजात्रा १५ करोडमाथि पुगेको छ। यो हलमा टिकेकाले यसले जारीको रेकर्ड तोड्न पनि सक्छ।

संख्याको आधारमा रिलिज भएका ५१ मध्ये आठ वटा फिल्म त दयाहाङ राईकै थियो। त्यसको प्रभाव २०८१ मा पर्ने पक्का छ।

दयाहाङ व्यस्त छन् अभिनयमा। तर, संख्यामा जति सफल भए अभिनयमा दयाहाङ उत्तिकै असफल भए। दयाहाङ र मिरुना मगरको जोडी दर्शकले मन पराए पनि अभिनयको दृष्टिकोणमा यी दुवैका लागि २०८० बिर्सन लायक वर्ष नै बन्यो।

वाह लायक एकै फिल्म आएन दयाहाङको। केवल २०८१ का लागि निर्मातामाझ दयाहाङको ह्याङ मात्र बढायो २०८० ले।

विपिन कार्कीका लागि पनि त्यति उपलब्धीमुलक वर्ष देखिएन। चर्चित पात्र भष्मेडनमा बनेको फिल्म आर्थिक रुपमा ठिकठिकै भए पनि अभिनयसहित फिल्मको गुणस्तरको दृष्टिमा भने फ्लप नै मान्न सकिन्छ। 

बरु छोटो अभिनय भए पनि उनका लागि द रेड सुटकेसबाहेक अन्य फिल्ममा सामान्य अभिनय नै देखियो। न महाजात्रामा उनले प्रभाव छाड्न सके न प्रसाद २ मा नै प्रशंसा लायक अभिनय देखियो उनको।

हात्तिछाप बिर्सने हो भने सौगात मल्लले अभिनयको सुखद सुरुवात गरे। फिल्म वाहियात भए पनि भष्मेडनमा उनको शान्त अभिनय देखियो जसलाई उनले द रेड सुटकेसमा निरन्तरता दिए। अगस्त्यको उनको अभिनय वाह लायक नभए पनि छ्या लायक पनि थिएन।

मिरुनाको अभिनय यात्रा संख्यात्मक रुपमा गतिलो देखिए पनि कलाको दृष्टिकोणमा दयाहाङ समानै हो। बरु वर्षा राउतको फरक खालको अभिनय देखियो।

अनमोल केसी फिल्मको अभिनयले भन्दा व्यक्तिगत गतिविधिले चर्चामा आए। उनी यो वर्ष पक्राउ परेका थिए। नाजिर हुसेन, प्रमोद अग्रहरी, प्रविण खतिवडाले अभिनयमा सम्भावना देखाउन सफल भए।

साम्राज्ञी शाह, प्रियंका कार्की, आँचल शर्मा लगायतका अभिनेत्रीहरूका लागि उपलब्धीमुलक वर्ष हुन सकेन।

दिमाग खराब फिल्म बनाएर सफल भएका निश्चल बस्नेत 'केमियो किङ' कलाकार बने। अधिकांश फिल्ममा फुत्तफुत्त उनको अनुहार आइरह्यो। निर्देशनका हकमा उनले आफ्नो पुरानो रेकर्ड ब्रेक त गर्न सकेनन् तर इज्जत भने राखे।

दीपेन्द्र लामाले आफ्नो फिल्म निर्माणको गति कायम राखे। दीपेन्द्र के खनालका हकमा भष्मे डनले नै बिर्सिए उत्तम वर्ष बनायो। 

महाजात्रा आर्थिक रुपमा सफल भए पनि निर्देशनको दृष्टिमा प्रदीप भट्टराईले सम्झन लायक काम देखाउन सकेनन्।

रामबाबु गुरुङले आफ्नै लयलाई निरन्तरता दिए। बरु द रेड सुटकेस मार्फत फिडेल देवकोटा र बहावका निर्देशक प्रमोद कँडेलले राम्रो सम्भावना देखाए।

३० चैत, २०८०, १७:२२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।