वर्ष २०८० : ‘अरेली काँडा’ र ‘कट्टा’को कब्जा

वर्ष २०८० : ‘अरेली काँडा’ र ‘कट्टा’को कब्जा

काठमाडौं : प्रकाश दुतराजको ‘रिमै’, सुजन चापागाइको ‘फुलथुङ्गे रानी’, देवेन्द्र बब्लुको ‘सेती दोभान’, अनि भुपू पाण्डेको ‘पिरैपिर’जस्ता अर्थपूर्ण र सुमधुर गीत सार्वजनिक नभएका हैनन् २०८० मा। तर, बजार भने अरेली काँडा र कट्टाले कब्जा हान्दियो।

अरेली काँडाले स्रोतालाई च्वास्सै घोच्दा वर्षभरि व्यस्त भइन् गायिका शान्ती श्री। गीतमा गायक प्रकाश सपुतको पनि स्वर नभएको हैन। तर, उनी छायाँमा परे। व्यस्तताको मात्रा हेर्ने हो भने ‘अरेली काँडै’ शान्तिका लागि निकै फाप्यो।

यस अगाडि सपुत र शान्ति श्रीले सहकार्य गरेका गीतमा प्रकाश हावी भएका थिए, यसमा शान्ती श्री हावी भइन्। वर्षभरी लाउन्जदेखि पार्टी प्यालेससम्म अनि घरमा जम्ने माहोलमा घन्किरह्यो यो गीत।

गीत हिट भए कि फ्लप त्यसको मापन गर्ने माध्यम अहिले युट्युब नै भएको छ। यसको आधारमा गैर फिल्मी गीतमा अरेली सर्वाधिक हेरिएको र सुनिएको गीत बन्यो। २०८० को अन्तिम दिनसम्ममा यो गीत ६ करोड ९० लाख पटक हेरिइसकिएको छ।

वरीयताका आधारमा एलिना चौहानले गाएको ‘कट्टा हान्दिन्छु’ २ करोडपटक हेरियो अनि सुनियो। तर, चर्चा र विवादले यो गीतलाई चर्चाको केन्द्रमा राख्यो। भिडियोको कोरियोग्राफीले पनि गीत चल्न सघायो नै शब्द चोरेको विवादले पनि फाइदै भयो।

त्यही बेलामा एलिनाको ब्रेकअपको गसिप समेत सार्वजनिक भयो। एकातिर ब्रेकअपको गसिप अनि अर्कोतिर धोका दिए कट्टा हान्दिने शब्द भएको गीत, दुवै म्याच भयो। एलिनाले आफ्नै पूर्व प्रेमीलाई सम्झिएर गीत गाएको सम्झिए उनका फ्यानहरूले, यसले गीतको लोकप्रियतालाई बढायो।

यी दुवै गीत २०८० मा सर्वाधिक चर्चामा रहे पनि आयुका हिसाबले छोटा हुन्। सुन्यो बिर्सियो। तर, लामो समयसम्म सुनिनसक्ने केही गीत पनि आए यो वर्ष। त्यसमा प्रकाश दुतराजको ‘रिमै’ पनि पर्छ। फरक शैलीको लोकलय निर्माणमा दत्तचित्त दुतराजको यो गीत दर्शक तथा स्रोताले पनि मजाले रुचाए।

युट्युबमा उनको म्युजिक भिडियो तीन करोड पटक बढी हेरिइसकिएको छ। सदाबहार गायकको सूचीमा सूचिकृत सुजन चापागाईंको फुलथुङ्गे रानीले सुमधुर संगीतमा रमाउन चाहने स्रोताहरूको मन आनन्द बनायो।

दाजु प्रकाश सपुतको क्रेजलाई क्यास नगरी आफ्नै तालमा संगीत साधनामा दत्तचित्त देवेन्द्र बब्लुले यो वर्ष ‘सेती दोभान’ बोलको गीत ल्याए। भुपू पाण्डेको ‘पिरैपिर’ले पनि बजार ततायो।

अभिनेता हरिवंश आचार्यले गायन बन्ने आफ्नो रहर यो वर्ष पनि पूरा गरे। उनले एक महिनाको बीचमा ‘मुटु फस्या थ्यो’ र ‘हाम्महाम्म’ बोलको गीत ल्याए।

फिल्मी गीत संगीततर्फ फिल्म नचले पनि फिल्म ऐँचो पैँचोको ‘काले केटाले’ बोलको गीतले कब्जै हान्यो। फिल्म उपहारको ‘कहिले बार बिर्सन्छु’, फिल्म बोक्सीको घरको ‘बुझिन मैले’, परदेशी-२ को ‘छुकछुके रेलैमा’ गीत दर्शकले मन पराए।

३० चैत, २०८०, १४:१५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।