एसीसी प्रिमियर कप : साविक विजेता नेपालले पहिलो खेल मलेसियासँग खेल्दै

एसीसी प्रिमियर कप : साविक विजेता नेपालले पहिलो खेल मलेसियासँग खेल्दै

काठमाडौं : ओमानमा आजदेखि सुरु हुने एसिसी प्रिमियर कपमा साविक विजेता नेपालले आफ्नो पहिलो खेल मलेसियासँग खेल्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे ‌ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ।

साविक विजेता नेपाल पहिलो खेलमा जित निकाल्दै सुखद् सुरुवात गर्न चाहन्छ। मलेसिया पनि नेपाललाई सहजै खेल जित्न नदिने योजनामा रहनेछ।

नेपालले वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा बाँडिएको छ। नेपाल सम्मिलित समूह ‘ए’ मा हङकङ, मलेसिया, कतार र साउदी अरब छन्। 

यो समूहमा हङकङले नेपाललाई केही चुनौती प्रस्तुत गर्न सक्छ। समूह ‘बी’मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र यूएई छन्। साउदी अरब र कम्बोडिया च्यालेन्जर्स कपको शीर्ष दुईमा रहँदै प्रिमियर कपका लागि छनोट भएका हुन्।

आजै ओमान र बहराइन तथा युएई र कुवेत भिड्नेछन्।  हङकङ र कतारबीचको खेल पनि आजै हुनेछ। प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी–ट्वेन्टी एसिया कपमा छनोट हुनेछ।

अघिल्लो वर्ष घरेलु मैदानमै भएको एकदिवसीय एसीसी प्रिमियर कप जितेर पहिलोपटक एसिया कप खेलेको नेपालले भारत र पाकिस्तानजस्ता बलिया टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गरेको थियो।

३० चैत, २०८०, ०८:०२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।