आईपीएल : मुम्बई इन्डियन्सको सहजै दोस्रो जित निकाल्दा बेंगलुरुको पाँचौं हार

आईपीएल : मुम्बई इन्डियन्सको सहजै दोस्रो जित निकाल्दा बेंगलुरुको पाँचौं हार

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएलमा मुम्बई इन्डियन्सले दोस्रो जित दर्ता गर्दा रोयल च्यालेन्जर्स बेंग्लुरुले भने पाँचौं हार व्यहोरेको छ।

बिहीबार राति वांङखडे स्टेडियममा बेंगलुरुले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९६ रन बनाएको थियो। जवाफमा मुम्बईले १५.३ ओभरमा ३ विकेट गुमाएर १९९ रन बनाउँदै ७ विकेटको जित दर्ता गर्न सफल भयो।

मुम्बईलाई जिताउन इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय पारि खेल्दा रोहित शर्मा, हार्दिक पाण्ड्या र तिलक वर्माको पारी पनि उत्कृष्ट रह्यो।

लक्ष्य पछ्याउने क्रममा इशान किशन र रोहित शर्माले पहिलो विकेटका लागि १०१ रनको साझेदारी गर्दै बलियो सुरुआत गराए। ८.५ ओभरमा पहिलो विकेटको रूपमा इशान किसन ६९ रन बनाएर आउट भएका थिए। उनले ३४ बलमा ५ छक्का र ७ चौका प्रहार गरे।

त्यसपछि रोहित र सूर्यकुमार मिलेर मुम्बईको रथ अघि बढाए। रोहित २४ बलमा ३४ रन बनाएर आउट हुँदा मुम्बईले ११.२ ओभरमा १३९ रन बनाएको थियो। रोहितले तीन छक्का र तीन चौका प्रहार गरे।

त्यसपछि सूर्यकुमार र कप्तान हार्दिक पाण्ड्या मिलेर टिमलाई जित नजिक लगेका थिए। सूर्यकुमार १९ बलमा ५२ रनको अर्धशतकीय पारि खेल्दै आउट भए।

सूर्यकुमारले १७ बलमै अर्धशतक पूरा गरेका थिए। उनले चार छक्का र पाँच चौका प्रहार गरे। कप्तान हार्दिक पाण्ड्या र तिलक बर्माले अन्त्यमा नटआउट पारि खेल्दै मुम्बईलाई सहज जित दिलाए।

पाण्ड्याले ६ बलमा २१ रन बनाउँदा तीन छक्का प्रहार गरे भने वर्माले १० बलमा १६ रन बनाउँदा तीन चौका हिर्काए। बेंग्लुरुका आकाश दीप, विजयकुमार र विल ज्याकले एक एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङ गरेको बेंग्लुरुको सुरुआत राम्रो भएन। स्टार क्रिकेटर विराट कोहली ३ रन बनाएर आउट हुँदा पहिलो विकेट १४ रनमा गुमेको थियो। त्यसपछि विल ज्याक ८ रन बनाएर आउट भएका थिए। कप्तान फाफ डु प्लेसिस र रजत पटिदार मिलेर बेंग्लुरुको पारि सम्हालेका थिए। 


पटिदारले २६ बलमा ५० रनको अर्धशतकीय पारि खेल्दै आउट हुँदा ११.३ ओभरमा १०५ रन बनेको थियो। पटिदारले आफ्नो पारिमा चार चौका र तीन छक्का हिर्काए। ग्लेन म्याक्सवेल फेरि फ्लप भए। उनले खाता नै खोल्न सकेनन्। उनी फ्लप भएको यो छैटौं खेल हो।

कप्तान प्लेसिस र दिनेश कार्तिकको जोडीले खेल अघि बढाउँदै टिमको स्कोर १५० प्लस बनाएको थियो। १५३ रन हुँदा कप्तान प्लेसिस ६१ रनको अर्धशतकीय पारि खेलेर आउट भएका थिए। उनले ४० बलमा तीन छक्का र चार चौका प्रहार गरे। त्यसपछि मेहिपल लोमरोरले खाता खोल्न सकेनन् भने सौरभ चौहार ९ रन बनाएर आउट भए।

विजय कुमारले पनि खाता खोल्न असफल हुँदा अन्त्यमा दिनेश कार्तिक र आकाश दीप नटआउट रहे। कार्तिकले २३ बलमा ५३ रनको आक्रामक पारि खेल्दा चार छक्का र पाँच चौका प्रहार गरे।

आकाश दीप भने २ रनमा नटआउट रहे। मुम्बईका जसप्रित बुमराहले सर्वाधिक ५ विकेट लिँदा गेराल्ड कोट्जी, आकाश भधवाल र श्रीयस गोपालले एक एक विकेट लिए।

दोस्रो जित पछि मुम्बई ४ अंकका साथ तालिकाको सातौं स्थानमा छ भने लगातार हार व्यहोरेको बेंग्लुरु २ अंकका साथ नवौं स्थानमा छ। 

३० चैत, २०८०, ०७:२८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।