आईपीएलमा कोलकाताको पहिलो हार, चेन्नई सात विकेटले विजयी

आईपीएलमा कोलकाताको पहिलो हार, चेन्नई सात विकेटले विजयी

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको जित निकालेको हो।

कोलकाताले दिएको १३८ रनको सामान्य लक्ष्य चेन्नाईले १७ ओभर ४ बलमा तीन विकेट गुमाएर पूरा गर्यो। चेन्नईको जितमा कप्तान रुतुराज गाइक्वाडले अविजित रहँदै ५८ बलमा ९ चौका सहित ६७ रन बनाए।

शिभम दुवेले २८ तथा ड्यारिल मिचेलले २५ रन बनाउँदा रचिन रवीन्द्रले १५ रन जोडे। यस्तै महेन्द्र सिंह धोनी ३ बलमा १ रन बनाउँदै नटआउट रहे।​

कोलकत्ताका लागि वैभव अरोराले २ तथा सुनिल नरिनले १ विकेट लिए।

त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनायो।​

कोलकत्ताका लागि श्रेयस ऐयरले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। यस्तै नरिनले २७ तथा आकृष रघुवंशीले २४ रन जोडे। अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहेन।

चेन्नईका लागि तुशार देशपाण्डे र रवीन्द्र जडेजाले समान ३-३ विकेट लिँदा मुस्तफिजुर रहमानले २ तथा महिश थिकसनाले १ विकेट लिए।

जितसँगै चेन्नई पाँच खेलमा तीन जित सहित तालिकाको चौथो स्थानमा छ। कोलकाता भने चौथो खेलमा पहिलो हार बेहोर्दै दोस्रो स्थानमा यथावत् छ।

आईपीएलमा आज पञ्जाब किंग्स र सनराईजर्स हैदराबाद भिड्दैछन्।

२७ चैत, २०८०, ०७:४१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।