संयुक्त राष्ट्रसंघले भन्यो- ‘जापोरिजिया प्लान्टमा भएको आक्रमणपछि ठूलो आणविक दुर्घटनाको जोखिम’

संयुक्त राष्ट्रसंघले भन्यो- ‘जापोरिजिया प्लान्टमा भएको आक्रमणपछि ठूलो आणविक दुर्घटनाको जोखिम’

एजेन्सी : युक्रेनको जापोरिजिया पावर प्लान्टमा भएको नयाँ ड्रोन आक्रमणले ‘ठूलो आणविक दुर्घटना’ हुने खतरा बढाएको छ।

संयुक्त राष्ट्रको आणविक निगरानी निकायले आइतबार यस्तो चेतावनी दिएको हो।

रुसले तीन जनाको ज्यान गएको आक्रमणमा युक्रेनको हात रहेको दाबी गरेको छ। तर, युक्रेनले यी आरोपहरूलाई अस्वीकार गरेको छ।

६ रिएक्टर भएको यो प्लान्ट रुसको नियन्त्रणमा छ। सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि यो प्लान्ट रुसले कब्जामा लिएको हो।

दक्षिणी युक्रेनमा अवस्थित जापोरिजिया आणविक प्लान्ट युरोपको सबैभन्दा ठूलो प्लान्ट हो।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले बारम्बार यस्ता आक्रमणहरू विरुद्ध चेतावनी दिँदै आएको छ।

एजेन्सीका प्रमुख राफेल ग्रोसीले आइतबारको ड्रोन हमला लापरवाहीपूर्वक गरिएको र यसले आणविक सुरक्षाको लागि खतरा बढेको बताए।

जापोरिजियामा रहेको एजेन्सीको टोलीले रिएक्टर सहित प्लान्टमा ‘ड्रोन हमलाको प्रभाव’ पुष्टि गरेको छ।

प्लान्टका रहेका रुसका अधिकारीहरूले विकिरणको स्तर सामान्य रहेको र कुनै गम्भीर क्षति नभएको बताए।

२६ चैत, २०८०, १०:४१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।