सीसँगको भेटपछि ताइवानलाई ट्रम्पको चेतावनी- ‘चीनबाट अलग भएर स्वतन्त्रताको घोषणा नगर्नू’
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट अलग भएर औपचारिक रूपमा स्वतन्त्रताको घोषणा नगर्न चेतावनी दिएका छन्।
चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तापछि शुक्रबार फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले भने, ‘कोही पनि अलग भएर स्वतन्त्र भएको म चाहन्नँ।’
वासिङ्टन फर्कने क्रममा विमानभित्र पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफू र राष्ट्रपति सीबीच ताइवानको विषयमा लामो कुराकानी भएको बताए।
उनले भने, ‘हेर्नुस्, हामीले ९५ सय माइल टाढा गएर लड्नुपर्ने हुन्छ। म त्यस्तो चाहन्नँ। म चाहन्छु ताइवान शान्त रहोस् र चीन पनि शान्त रहोस्।’
ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने सम्भावना छ कि छैन भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘अहँ, मलाई त्यस्तो लाग्दैन। मलाई लाग्छ सबै ठीक हुनेछ। सी जिनपिङ पनि युद्ध चाहँदैनन्।’
अर्कोतर्फ, चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार कुराकानीका क्रममा सी जिनपिङले अमेरिकालाई चेतावनी दिएका थिए।
उनले भनेका थिए, ‘ताइवानको मुद्दा चीन-अमेरिका सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील विषय हो। यदि यसलाई गलत तरिकाले सम्हाल्ने प्रयास गरियो भने दुई देशबीच टकराव वा सङ्घर्ष हुन सक्छ।’
यद्यपि, ताइवानका राष्ट्रपति विलियम लाईले भने ताइवानले औपचारिक रूपमा स्वतन्त्रता घोषणा गरिरहनु नपर्ने बताउँदै आएका छन्। किनकि, ताइवानले आफूलाई पहिल्यैदेखि नै एक स्वतन्त्र सार्वभौम देश मान्ने गरेको छ।
जेठ २, २०८३ शनिबार ०८:५५:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।