नेपालले जित्यो भारतमा भएको फ्रेन्डसिप कप टी २० प्रतियोगिताको उपाधि

नेपालले जित्यो भारतमा भएको फ्रेन्डसिप कप टी २० प्रतियोगिताको उपाधि

काठमाडौँ : भारतमा भएको फ्रेन्डसिप कप टी २० प्रतियोगिताको उपाधि नेपालले जितेको छ। फाइनलमा नेपालले गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको हो।

नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएकोमा २० ओभरमा ८ विकेट गुमाउँदै जम्मा १ सय ५८ रन मात्रै बनाएपछि नेपालले सहजै उपाधि पायो।

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो। नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाएका थिए।

ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रन बनाएर आउट भए। कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट रहेका थिए। दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए।

गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमित पटेलले र जाला युवराज सिंहले १–१ विकेट लिएका थिए।

नेपालले दिएको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको गुजरातका कप्तान उमांग रोहितकुमारले २८ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए। आर्य देशाई २४ बलमा ४ चौका र २ छक्कासहित ३६, रुद्र पटेल १७, जयमित पटेल र हर्ष देशाईले १५/१५ रन बनाए पनि जित्न भने सकेनन्।

नेपालका बदल अभिनाश बोहराले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए। करण केसी र कुशल मल्लले १/१ विकेट लिए।

२५ चैत, २०८०, १८:०६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।