एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि नेपाल र गुजरात भिड्दै, 'क्लिन स्विप'को लक्ष्यमा नेपाल

एसएमएस फ्रेन्डसिप कपको उपाधिका लागि नेपाल र गुजरात भिड्दै, 'क्लिन स्विप'को लक्ष्यमा नेपाल

काठमाडौं : त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी–ट्वान्टी  क्रिकेटको अन्तिम खेल आज हुँदै छ।

आज उपाधिका लागि नेपाल र गुजरात क्लबबीच गुजरातको साई मेघपन क्रिकेट मैदानमा दिउँसो प्रतिस्पर्धा हुनेछ।

जारी प्रतियोगितामा नेपाल र गुजरातबीचको यो खेल तेस्रो हो। यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको नेपाली टोली आजको खेलमा गुजरातविरुद्व क्लिन स्विपको लक्ष्यमा मैदानमा हुनेछ। 

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो। तर, शुक्रबार भएको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भयो। 

नेपाल ४ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ। गुजरात ४ खेलमा २ जित र २ हारका साथ ४ अंक बनाएर फाइनल पुगेको टोली हो।  

तीन खेल जितेर फाइनल पुगेको नेपाली टोली गुजरातविरुद्ध उपाधि जित्ने रणनीतिका साथ आज मैदान प्रवेश गर्नेछ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ। प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ।

नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेलेको हो। त्यतैबाट नेपाली टोली ओमान जानेछ। 

२५ चैत, २०८०, ०७:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।