उप- निर्वाचनमा गठबन्धनबिना २०८४ को मिनी अभ्यास, इलाम र बझाङमा बशंवादको परीक्षण

उप- निर्वाचनमा गठबन्धनबिना २०८४ को मिनी अभ्यास, इलाम र बझाङमा बशंवादको परीक्षण

काठमाडौँ : मङ्सिर-४ को प्रदेश र सङ्घको निर्वाचनमा दलगत हैन, गठबन्धनबीच प्रतिस्पर्धा भयो। कांग्रेस,माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको एउटा गठबन्धन बन्यो। एमाले-राप्रपासहितको अर्को गठबन्धन। गठबन्धन हुँदा कुन दलको जनमत कति रहेछ भन्ने परीक्षण हुन सकेन।

बिचमा प्रतिनिधि सभाको तीन वटा क्षेत्रमा उप-निर्वाचनहुँदा पनि गठबन्धनबाटै दलहरू निर्वाचनमा होमिए। तनहुँ र चितवनमा गठबन्धनका उम्मेदवार असफल भए।

सुवास नेम्वाङ र पृथ्वीबहादुर सिंहको निधनपछि इलाम-२ को प्रतिनिधि सभा सिट  र बझाङ १ को प्रदेश सभामा वैशाख १५ मा उप-निर्वाचनमा भने दृश्य बदलियो।

केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै इलाम-२ र बझाङ १ को उप-निर्वाचनमा भने दृश्य बदलियो। केन्द्रदेखि प्रदेशसम्म सरकार गठनमा सहकार्य गरेका दलहरू समेत आ-आफ्नो उम्मेदवारसहित निर्वाचनमा सहभागी भए। जीतका लागि जोसँग पनि गठबन्धन गर्ने विकृत राजनीतिक अभ्यास स्थागित भयो।

इलाम-२ मा ८ स्वतन्त्र उम्मेदवारसहित २० जनाको उम्मेदवारी पर्यो। इलाममा एमाले र माओवादीबीच सहकार्य भए पनि बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा भने दुवै दलले उम्मेदवारी दिए। बझाङमा १२ जनाको उम्मेदवारी पर्यो।

इलाममा गठबन्धनमा रहेको एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी अनि जनता समाजवादी पार्टी पनि आ-आफ्नो उम्मेदवार लिएर चुनावी मैदानमा उत्रिए।

एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउँदा रास्वपाले मिलन लिम्बु र एकीकृत समाजवादीले जीतबहादुर राईलाई उम्मेदवार बनायो। जसपाले स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु थेगिमलाई समर्थन गर्यो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इलाममा मंसिर ४ मा सुवास नेम्वाङसँग झिनो मतले पराजित भएका डम्बर खड्कालाई उम्मेदवार बनायो। प्रतिपक्षमा रहेका दलहरुबीच पनि गठबन्धन बनेन यस पटक।

राप्रपाका लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्तविक्रम शाह, नेशनल रिपब्लिक पार्टीका धनराज राना मगर, मङ्गोल नेशनल अर्गनाइजेसनका मनि बहादुर लिम्बू, नेपाली जनता दलका रेसमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी र राप्रपा नेपालका गणेशबहादुर चौकानले उम्मेदवारी दिए।

केशवकुमार चापागाईँ, डाकप्रसाद गौतम, दीपेश बोहरा, अर्जुनबहादुर शाही, मनोज निरौला, योगेन्द्र गुरुङ, राज बस्यालले स्वतन्त्र उम्मेदवारी दर्ता गराए।

बझाङमा गठबन्धनका तीन उम्मेदवार

बझाङको उप-निर्वाचनमा सत्ता गठबन्धनबीच सहकार्य गर्न प्रयास भएको थियो। तर सफल भएन। इलाम-२ मा एमालेलाई समर्थन गर्न एकीकृत समाजवादीले बझाङमा आफ्नो उम्मेदवारलाई समर्थन गर्नुपर्ने सर्त राखेको थियो। उता एमालेले भने इलाम र बझाङ दुबैतिर माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीसहितको समर्थन मागेको थियो।

माओवादीले पनि बझाङमा एमालेको समर्थनको आस गरेको थियो। तर गठबन्धनमा छलफल नै नगरी एमालेले उम्मेदवार तय गरेर मात्र माओवादी केन्द्र र एकीकृत समाजवादीसँग छलफल गरेको थियो।

इलाम-२ को प्रतिनिधि सभामा पनि उम्मेदवार उठाउने तयारी गरेको माओवादी केन्द्रमा उम्मेदवार सिफारिस भए पनि अन्तमा एमालेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्दै उम्मेदवारी दिएन। यता बझाङमा भने गठबन्धनमा रहेका एमाले, माओवादी र एकीकृत समाजवादी तीनै दलले उम्मेदवारी दिए।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभामा भाग लिएको छैन। गत निर्वाचनमा पनि रास्वपा प्रदेश सभाको निर्वाचनमा सहभागी भएको थिएन।

बझाङमा नेपाली कांग्रेसले अभिषेकबहादुर सिंहलाई उम्मेदवार बनाउँदा एमालेका दमनबहादुर भण्डारी, माओवादी केन्द्रका जनकबहादुर बुढा र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्का उम्मेदवार बने।

एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टीका रामबहादुर जाग्री, जनमत पार्टीकी सुशीलादेवी विष्ट, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपकबहादुर खड्का, नेशनल रिपब्लिक पार्टीका कमल घर्तीमगर, नेपाली जनता दलका अशोक सुनार र राष्ट्रिय मातृभूमि पार्टीका गजेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराए।

इलाम र बझाङको संयोग

इलाममा एमालेले उम्मेदवार बनाएका सुहाङ नेम्वाड्ड सुवास नेम्वाङका छोरा हुन्। बुबाको निधनपछि नै उनी राजनीतिमा सक्रिय भएका थिए। इलाम केन्द्रित राजनीतिक गतिविधि बढाएका उनले एमालेबाट टिकटको आस गरिरहँदा उता रास्वपाले पनि उम्मेदवार बनाउन प्रयास गरेको थियो। तर अन्तमा एमालेले सुहाङलाई नै टिकट दियो।

उता बझाङमा उम्मेदवार बनेका सिंह गाडी दुर्घटनामा निधन भएका पृथ्वीबहादुर सिंहका छोरा हुन्। उनी पनि बाबुको निधनपछि नै राजनीतिमा चासो दिएका थिए। कांग्रेसबाट अन्य उम्मेदवारहरूको नाम सिफारिस भए पनि अन्तमा पार्टीले सिंहकै नाम अनुमोदन गरेर पठायो।

सुहाङ र अभिषेक दुवै  बाबुको निधनसँगै राजनीतिमा आए। अर्को यी दुवै युवा छन्। राजनीतिक अनुभवमा घरको माहौल नै राजनीतिक भएकाले आफू पनि संलग्न रहेको सुहाङले दाबी गर्ने गरेका छन्। उता अभिषेक नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीतिमा सक्रिय रहेको दाबी गर्छन्।

२४ चैत, २०८०, २२:१२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।