पाकिस्तानी ब्याट्सम्यानमाथि ईसीबीद्वारा पाँच वर्षको प्रतिबन्ध

पाकिस्तानी ब्याट्सम्यानमाथि ईसीबीद्वारा पाँच वर्षको प्रतिबन्ध

एजेन्सी : हालै युएईसँगको सम्बन्ध तोडेर पाकिस्तान फर्किएका ब्याट्सम्यान उस्मान खानलाई इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी)ले पाँच वर्षको प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धको अर्थ उनी २०२९ सम्म युएईमा हुने कुनै पनि ईसीबी प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। यसमा मुख्यतया दुई ठूला प्रतियोगिता आईएल टी-२० र अबु धाबी टी-१० समावेश छन्।

ईसीबीले आफ्नो विज्ञप्तिमा उस्मानमाथि बोर्डले तोकेको जिम्मेवारीविरुद्ध गएको भन्दै यो प्रतिबन्ध लगाइएको जनाएको छ। यसका साथै बोर्डले उस्मानले गलत तरिकाले आफ्नो भनाइहरू उनीहरूसमक्ष व्यक्त गरेको आरोप लगाएको छ।

‘उस्मानले यूएईका लागि खेल्ने आफ्नो निर्णयको बारेमा ईसीबीलाई भ्रममा पारे र बोर्डले उपलब्ध गराएको उपकरणहरू नयाँ अवसरहरू खोज्न प्रयोग गरे। अब यो स्पष्ट भएको छ कि उनी यूएईबाट खेल्न चाहँदैनन्।’

उस्मानमाथि कारबाही हुने अपेक्षा गरिएको थियो, तर यतिसम्मको कडा निर्णय लिलन्छ भन्ने अपेक्षा थिएन। पाकिस्तानका लागि खेल्ने सपना त्यागेका उस्मान युएईको टोलीमा सहभागी हुन योग्य बन्ने बाटोमा थिए।

उनले युएईको घरेलु खेलाडीका रूपमा आईएल टी-२० र अबु धाबी टी-१० मा भाग लिएका थिए। हालै उनले पाकिस्तान सुपर लिगमा पनि विदेशी खेलाडीको रूपमा सहभागिता जनाएका थिए।

प्रतियोगितामा उनको प्रदर्शनले पूरै खेल नै बदलदिएको थियो। मुल्तान सुल्तान्सका लागि ११ मध्ये ७ खेल मात्र खेले पनि उनी दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बने। उनले दुई शतकसमेत प्रहार गरे।

फाइनलको पूर्वसन्ध्यामा एक मिडियासँग कुरा गर्दै उनले पाकिस्तानबाट खेल्ने इच्छा व्यक्त गरेका थिए। उनलाई जब पूरै टोलीसहित प्रशिक्षण शिविरमा बोलाइयो, तब उनले त्यसलाई स्वीकार गरेर पाकिस्तान फर्किएका छन्।

उस्मानले पाकिस्तान क्रिकेट बोर्डले आमन्त्रण गर्दा अस्वीकार गर्न गाह्रो भएको बताएका थिए। प्रतिबन्धका कारण उस्मानको वर्क परमिट पनि खारेज हुन्छ कि हुँदैन भन्ने कुरा अहिले अस्पष्ट छ।

तर, पछिल्ला केही हप्ताका घटनाहरूले युएईबाट खेल्ने उनको आशालाई ध्वस्त पारेको छ। उनी न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजका लागि पाकिस्तानी टोलीमा छनोट हुने अपेक्षा गरिएको छ। उस्मान पाकिस्तानबाट खेल्न चाहनुको मुख्य कारण टी–२० विश्वकप हो।

२४ चैत, २०८०, ११:२०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।