अमेरिकाको न्यूयोर्कमा ४.८ म्याग्निच्युडको भूकम्प, २४० वर्षयताकै शक्तिशाली भएको सीएनएनको दाबी

अमेरिकाको न्यूयोर्कमा ४.८ म्याग्निच्युडको भूकम्प, २४० वर्षयताकै शक्तिशाली भएको सीएनएनको दाबी

एजेन्सी : अमेरिकाको न्यूयोर्कमा भूकम्प गएको छ।

शुक्रबार विहान गएको ४ दशमलव ८ म्याग्निच्युडको भूकम्पको शक्तिशाली धक्काले अमेरिकाको न्यूयोर्कका गगनचुम्बी भवनहरू हल्लिएका थिए भने सडकमा समेत चिरा परेको थियो।

सार्वजनिक भएका भिडियोमा न्यूयोर्कको प्रतिष्ठित प्रतिमा स्ट्याच्यु अफ लिबर्टी र धेरै भवन हल्लिरहेको देख्न सकिन्छ। न्यू जर्सी नजिकै आएको यो भूकम्पको धक्का पेन्सिलभेनियादेखि कनेक्टिकटसम्म महसुस गरिएको थियो।

मानिसहरूले जमिनमुनि गडगडाहटको आवाज सुनेको बताएका छन्। घरभित्रका सामानहरू ढलेर धेरै ठाउँका पर्खालमा क्षति पुगेको छ। अहिले भूकम्पबाट भएको क्षतिको आँकलनमा भइसकेको छैन।

युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पपछि कम्तिमा ६ वटा पराकम्पन महसुस गरिएको थियो, जसमध्ये एउटा ४ म्याग्निच्युडको थियो।

भूकम्प जाँदा संयुक्त राष्ट्र सुरक्षा परिषद्को मुख्यालयमा गाजासम्बन्धी बैठक चलिरहेको थियो। तर, भूकम्पका कारण केही समय रोकिनुपरेको थियो।

सेभ द चिल्ड्रेनका प्रतिनिधि जान्ती सोरिप्टो बोलिरहेकी थिइन्, उनले अचानक भनिन्- ‘यो भूकम्प हो?’

अमेरिकाको पूर्वी तटीय क्षेत्रलाई सुरक्षित मानिएको छ। अमेरिकामा यो भूकम्प १४० वर्षपछि आएको बताइएको छ।

जियोलोजिकल सर्भेका अनुसार लाखौं वर्ष पहिले यहाँ सक्रिय टेक्टोनिक प्लेट थियो। तर, पछि निष्क्रिय भएको थियो। यद्यपि पुन: सक्रिय भएको हुनसक्ने आँकलन गरिएको छ।

४ दशमलव ८ म्याग्निच्युडको भूकम्प न्यू जर्सीमा २४० वर्षयताकै सबैभन्दा शक्तिशाली भएको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ।

२४ चैत, २०८०, ०७:४९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।