क्रिकेट : कीर्तिपुर र भापी दुवैतिर हार्‍यो नेपाल

क्रिकेट : कीर्तिपुर र भापी दुवैतिर हार्‍यो नेपाल

काठमाडौं : शुक्रबार नेपाली राष्ट्रिय क्रिकेट टिम र नेपाल ए को दुई प्रतियोगिता थियो।

विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा नेपाल ए ले आयरल्यान्ड उल्भ्सविरुद्ध दोस्रो एकदिवसीय खेल खेल्यो भने दिउँसो पौने १ बजे राष्ट्रिय टोलीले भारतको गुजरातस्थित भापीमा बरोडाविरुद्ध त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेल खेल्यो।

तर, दुवै खेलमा नेपाल पराजित मात्र भएन, अलआउट नै भयो। त्रिवि मैदानमा भएको एकदिवसीय खेल हो भने गुजरातमा भएको टी२० खेल हो।

तीन खेलको एकदिवसीय सिरिजमा दोस्रो खेलमा पराजित भएसँगै नेपाल ए ले घरेलु मैदानमा भएको दोस्रो उपाधि गुमाएको हो।

टस हारेर पहिला ब्याटिङमा तानिएकोे आयरल्यान्ड उल्भ्सले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो। जवाफी लक्ष्य पछ्याएको नेपाल ए १६.५ ओभरमा ६० रनमा अलआउट भयो।

उता भापीमा भएको खेलमा टस जितेर बरोडाले ब्याटिङ रोजेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाएर उसले १५८ रन बनायो।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै मात्र ११९ रन जोड्यो। नेपालका लागि सन्दीप जोराले ५६ रनको अर्धशतकीय पारी खेले।

हारका अलावा नेपालको राष्ट्रिय टोलीले आइतबार हुने फाइनल खेल्नेछ। यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेकाकाले नेपालले आज कप्तान रोहित पौडेल सहितका मुख्य खेलाडीलाई बेन्चमा राखेको थियो।

२३ चैत, २०८०, २०:५०:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।