छड्के-२ को असफलता र मुद्धामामिलापछि पर्दामा फर्किन लागेका अनमोललाई सहज छैन पुरानै क्रेज फर्काउन

छड्के-२ को असफलता र मुद्धामामिलापछि पर्दामा फर्किन लागेका अनमोललाई सहज छैन पुरानै क्रेज फर्काउन

काठमाडौँ : छड्के-२ पछि अभिनेता अनमोल केसीका लागि अभिनय यात्रा त्यति सहज भएन। फिल्म फ्लप मात्रै हैन सुपर फ्लप भयो। सुपरस्टार भनिएका अनमोलका यस अगाडिका फिल्म होस्टल बाहेक अन्य मध्यमै भए पनि यति साह्रो दर्शकले अस्वीकार गरेका थिएनन्। राम्रो फ्यान फलोइङ भएका युवा अभिनेता ठानिएका उनका लागि छड्के-२ फिल्मी करिअरका लागि पहिलो नै भयो।

उनले सामाजिक सञ्जालबाट आफ्नो कमजोरी स्वीकार गर्दै अब फिल्म छान्दा सचेत हुने वाचा गरे। सचेत मात्रै हैन उनी अति नै सचेत हुँदै एडभान्स लिइसकेको फिल्ममा अभिनय गर्न पनि आनाकानी गर्न थाले।

त्यसले उनलाई प्रहरी कार्यालयसम्म पूर्यायो। फिल्म रावायणमा अनुबन्धित हुनुको कारण उनका बाबु तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको करबल बढी जिम्मेवार थियो। बोर्डको अध्यक्ष हुनका लागि उनले दिएको वचन अनुसार मन नलागे पनि पूजा शर्मासँग सहकार्य गर्न बाध्य भएका थिए।

पूजा शर्मासँग सहकार्य गर्न बाध्य पार्ने माध्यम थिए पूजाका प्रेमी युद्ध बानियाँ। युद्ध निर्माण व्यवसायी तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँका परिवारका सदस्य थिए। फिल्म क्षेत्रमा जम्न पूजाले अनमोलको साथ खोजिन्। बोर्डको अध्यक्ष हुन भुवनका लागि इन्द्रको साथ चाहिएको थियो। डिल छोरालाई अभिनय गराउनेबाट सम्भव भयो।

त्यो बेलामा पूजाको प्रोजेक्टमा अनमोल जोडिनु नै फिल्म क्षेत्रका लागि नौलो विषय बनेको थियो। पहिला पूजा जोडिएको प्रोजेक्टमा अनमोल कहिलेसम्म टिक्छन् भन्ने आशंकाबीच फिल्म रावायणमा अर्का निर्देशक सुदर्शन थापा जोडिए।

अनमोलले फिल्ममा अभिनय गर्दिन भन्न सकेनन्। तर बहाना बनाउँदै सुटिङ सार्न थालेपछि थापा उनलाई फिल्म खेल्न बाध्य बनाउन प्रहरीकोमा गए। प्रशासनमा इन्द्र बानियाँको साथ थियो नै।

असोज १२ गते उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले उनलाई आपराधिक विश्वासघातको आरोपमा पक्राउ गर्यो। उनी प्रहरी हिरासत छाडेर अस्पताल बसे। केस जिल्ला प्रहरी परिसर काठमाडौँमा आइपुगेपछि उनी हाजिर जमानीमा छुटे। उता अर्कै केसमा सुदर्शनविरुद्ध प्रहरी वृत्त बौद्धमा जाहेरी परेपछि उनी भूमिगत भए।

केही समयको विश्रामपछि अनमोल अभिनयकर्ममा फर्किए फिल्म ‘फर्की फर्की’ बाट। अनमोलले यो फिल्मको सुटिङ सक्काइसके। उनको जन्मदिनको मौका पारेर शनिवार निर्माण टिमले उनको फस्ट लुक्स पोस्टरमार्फत सार्वजनिक गर्यो जहाँ टाइम ट्राभल्सको झल्को दिइएको छ।

उता सुदर्शन पनिि पूजा शर्माको सहारामा फर्किएर रावायणको सुटिङको घोषणा गरेका छन्।

थोरै समयको हन्डर र ठक्करबाट उकालिएर अनमोलले अभिनय गरेको फिल्म फर्की फर्की जेठ १० गते रिलिज गर्ने डेट तोकिएको छ।

समय त्यति लामो हैन, तर अनमोलका लागि हलमा आफ्नो क्रेज फर्काउन हिजोको जस्तो सहज भने देखिँदैन। कन्ट्रोवर्सी एकातिर भइहाल्यो अर्कोतिर छड्के-२ ले उनका फ्यानहरूलाई साँच्चिकै बिच्काएको छ।

उनले आफ्नो क्रेज फर्काउन सघाउन सक्ने सबैभन्दा बलियो माध्यम मिडिया नै हो। यो बीचमा उनी मौन बस्दा मिडियाबाट पनि टाढा भए नै। मिडियामा पनि उनी सीमित घेरामा रमाउँदा फराकिलो सम्बन्ध निर्माण हुन सकेको छैन। यूट्युवरहरुको मात्र भरपर्दा नतिजा छड्के-२ कै दोहोरिने जोखिम उत्तिकै छ।

अनमोल उत्कृष्ट युवा अभिनेता हैनन्, तर मध्यम कलाकार भने हुन्। अभिनय क्षमतादेखिका पक्षहरूमा सिरियस वर्कआउट गर्दा उनले आफ्नो क्षमता बढाउन सक्ने सम्भावना भने देेखिन्छ।

तर यो बीचमा उनले फिल्म क्षेत्रमै पनि राम्रै दुस्मनी कमाएका छन्। त्यसको प्रतिफल उनको फिल्मसँग अर्को फिल्म 'पुजार सार्की' जुध्नु पनि देखाउँछ।

पुजार सार्कीको निर्माण टिमले संयोगवश फिल्म जुधाएको हैन भन्ने त शनिवार फर्की फर्कीको फस्ट लुक्स सार्वजनिक भए लगत्तै पुजार सार्कीले पल शाहको फिल्मी लुक्स सार्वजनिक गर्नुले पनि देखाउँछ।

फिल्म सुटिङकै क्रममा कहिले प्रदीप खड्काको लुक्स त कहिले आर्यन सिग्देल नाच्दै गरेको भिडियो सार्वजनिक गरेर पुजार सार्कीले एक खालको हाइप निर्माण गरिसकेको छ।

यो फिल्मको सबैभन्दा कमजोर पक्ष अर्का अभिनेता पल शाह हुन् जो नाबालिग बलात्कारको अभियोगमा जेल यात्राहुँदै रिहा भए। तर उनको मुद्धा पुनरावेदनबाट ब्युँतिसकेको छ।

यी सबै चुनौतीलाई चिर्दै पर्दामा 'फर्की-फर्की' मार्फत हुन लागेको अनमोलको कमब्याकलाई उपलब्धिमूलक बनाउने त उनले गरेको अभिनयले नै हो। तर यसमा मिडियासँग कति सहज सम्बन्ध बनाउँछन् अनि फिल्म निर्माण टिमले पुजार सार्कीको काउन्टर कसरी डिफ्युज गर्छ सक्छ भन्नेले पनि निर्धारण गर्न सक्छ।

१७ चैत, २०८०, १४:३२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।