दुई ब्राजिलियनको पेटमा चार करोडको कोकिन, सापाउलोबाट आएका थिए नेपाल

दुई ब्राजिलियनको पेटमा चार करोडको कोकिन, सापाउलोबाट आएका थिए नेपाल

काठमाडौं : ब्राजिलको सापाउलोबाट हवाईमार्ग हुँदै नेपाल आएर ब्राजिलियन नागरिक लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस ठमेलको एक होटेलमा बसेका थिए।

लागुऔषध नियन्त्रणमा सक्रिय अन्तर्राष्ट्रिय सञ्जालको नजरमा उनीहरूको गतिविधि परिसकेको थियो। उनीहरू न पानी खान्थे, न शौचालय नै जान्थे। उनीहरूको हवाई गन्तव्य नेपाल देखिएपछि लागुऔषध अनुसन्धान ब्यूरोमा उनीहरूबारे सूचना आएको थियो।

नेपाल कोकिनको स्थायी बजार हैन। तर, यसअघि पनि पटक-पटक कोकिनका कारोबारीहरूले ब्राजिल हुँदै कोकिन अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नेपाललाई हवाई रुटमा राख्ने गरेका थिए।

उनीहरूको पृष्ठभूमिका आधारमा उनीहरू लागुऔषध तस्करीमा संलग्न समूहको सदस्य भएको शंका गरेर रेड लिस्टमा राखिएको थियो।

मंगलबार उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएर ठमेलको होटेलमा जाँदा विमानस्थलबाटै ब्यूरोको टोलीले निगरानीमा राखिसकेको थियो।

उनीहरू होटेलमा बस्दा उनीहरूलाई सहजीकरण गर्ने व्यक्ति समेत फेला पार्ने दाउमा थियो प्रहरी। तर, थप व्यक्ति नदेखिएपछि होटेलबाट पक्राउ गरेर प्रहरी कार्यालय ल्याइयो।

प्रहरीले लारिसनको साथबाट ८ सय ४० ग्राम र फर्नान्डालाई ५ सय ५० ग्राम कोकिन बरामद गर्यो।

उनीहरूको पेटमा  थप क्याप्सुल हुनसक्ने शङ्कामा दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएको थियो। पछि लारिसनको पेटबाट थप ६ वटा प्लास्टिकले र्यापिङ गरिएका क्याप्सुल निकालियो। त्यसको तौल ६५ ग्राम थियो।

उनीहरूको हवाई यात्राको आधारमा दुवै जना ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुल निलेर नेपाल आएको देखिएको ब्यूरोले जानकारी दिएको छ।

त्यसपछिको उनीहरूको गन्तव्य कहाँ थियो प्रहरीले खुलाएको छैन। ब्यूरोका अनुसार बरामद गरिएको कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख रुपैयाँ हुन आउँछ।

प्रहरीले अहिले जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर हिरासतमा राखी अनुसन्धान गरिरहेको छ।

कोकिन बोकेर नेपाल आउने १० देशका नागरिक

नेपाल कोकिनका लागि आकर्षक बजार हैन। तर, एक दशक अगाडिबाटै कारोबारीहरू भने सक्रिय देखिन्छन्।

नेपालमा हालसम्म कोकिनसहित पाकिस्तानी, बोलिभियाली, मलेसियन, फिलिपिनी, दक्षिण अफ्रिकी, चिनियाँ, ब्राजिलियन, भारतीय, नाइजेरियालीदेखि भेनेजुएलासम्मका नागरिक पक्राउ परेका छन्।

नेपालमा जति पक्राउ परेका छन्, ती सबै भरिया हुन्। नेपालमा कोकिन भित्र्याउनुको लक्ष्य भारत, थाइल्यान्ड अनि पाकिस्तान हुँदै युरोप र अमेरिकी बजारसम्म पुर्याउने देखिन्छ।

एकै खेपमा १० किलो बढी कोकिनसम्म बरामद भए पनि नेपाललाई ट्रान्जिट बनाउने अन्तर्राष्ट्रिय गिरोह र नेपालमा बसेर उनीहरूलाई सहजीकरण गर्नेहरू अहिलेसम्म प्रहरीले पहिल्याउन सकेको छैन।

अधिकांश घटनामा पक्राउ परेकाहरू नेपाल आउँदा दुईतर्फी टिकट लिएर आएका हुन्छन्। अधिकांशले ठमेलको होटेललाई प्रयोग गर्छन्। उनीहरू आउनु अगाडि नै अनलाइनबाटै होटेलको कोठा बुक भएको हुन्छ।

नेपालमा पक्राउ पर्ने अधिकांशहरू पहिलो सूचीका भरिया हुन्छन्। उनीहरूको जिम्मेवारी नेपालसम्म कोकिन ल्याउने देखिन्छ।

नेपाल भित्रिएको कोकिन नेपाल बाहिर लैजान दोस्रो तहका भरिया आउँछन्। यस अगाडिको प्रहरी कारबाहीमा पक्राउ परेकाहरूको आधारमा ती अधिकांश भारतीय, पाकिस्तानी, मलेसियन र थाई नागरिक हुने गरेका छन्।

उनीहरूले सम्पर्कका लागि ह्वाट्स एपको प्रयोग गर्ने गरेका हुन्छन्। ब्राजिलबाट कोकिन बोकेर आएकाहरू सुरक्षित रूपमा होटेलमा पुगेको केही दिनसम्म दोस्रो तहका भरियाले निगरानी गरेर सुरक्षित देखिएमा कोकिन लिएर अधिकांश अवस्थामा स्थलमार्गबाट भारत हुँदै अन्य देशमा लैजाने गरेका छन्।

१६ चैत, २०८०, २१:२६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।