दुर्गा प्रसाईंले राखेको हतियारको इजाजतबारे छानबिन गर्न चार सदस्यी छानविन समिति गठन

दुर्गा प्रसाईंले राखेको हतियारको इजाजतबारे छानबिन गर्न चार सदस्यी छानविन समिति गठन

काठमाडौं : गृह मन्त्रालयले दुर्गा प्रसाईंले पाएको हतियारको बारेमा पाएको इजाजतबारे छानबिन चार सदस्यीय छानबिन समिति गठन गरेको छ।

गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गठन भएको समितिमा मन्त्रालयको कानून शाखामा कार्यरत उपसचिव ऋषि पौडेल, नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई र गृहकै उपसचिव एकदेव अधिकारी रहेका छन्।

गत चैत ५ गते सर्वोच्च अदालत परिसरमा हतियारसहित प्रवेश गर्न खोजेका दुईजना व्यक्ति पक्राउ परेका थिए। सो सम्बन्धमा सर्वोच्च अदालतले कानून विपरीत इजाजतपत्र जारी भन्दै सो इजाजतपत्र के कसरी नवीकरण भएको हो भन्ने सम्बन्धमा आवश्यक छानविन गर्न आदेश दिएको थियो।

यस्तै इजाजत पत्रमा अदालत, न्यायिक निकाय वा अन्य संवेदनशील क्षेत्रमा कुनै पनि हतियार लिई प्रवेश गर्न नपाउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न आदेश जारी भएको थियो। सो सम्बन्धमा छानबिन गर्न मन्त्रालयले छानबिन समिति गठन गरेको हो।

समितिलाई जिल्ला प्रशासन कार्यालय, झापाबाट २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा जारी भएको हतियारको इजाजतपत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारवाहीको सिफारिस गर्ने अधिकार तोकिएको छ।

यस्तै व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त गरेका हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने, हातहतियार नवीकरण सम्बन्धमा भएको कानूनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजाना सम्बन्धी ऐन र सोसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने सुधारका विषयहरु पहिचान गर्ने कार्यसमेत दिइएको छ।

समितिलाई इजाजत प्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न सो को अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने र हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने लगायतक विषयहरू समेटेर १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश छ।

१६ चैत, २०८०, ११:५८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।