आईपीएल : राजस्थानसँग १२ रनले हार्‍यो दिल्ली, आज बैंग्लुरु र कोलकत्ता भिड्दै

आईपीएल : राजस्थानसँग १२ रनले हार्‍यो दिल्ली, आज बैंग्लुरु र कोलकत्ता भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार भएको नवौं खेलमा राजस्थान रोयल्यसले दिल्ली क्यापिटल्सलाई १२ रनले हराएको छ।

१८६ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७३ रनमा समेटियो। दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाउँदा त्रिस्तान स्टब्सले ४४ रनको अविजित पारी खेले।

रिसव पन्त २८, मिचेल मार्स २३, अभिषेक पोरेल ९ र रिकी भुई शून्य रनमा आउट हुँदा अक्षर पटेल १५ रन बनाएर नटआउट रहे।

राजस्थानका नान्द्रे बर्गर र युजवेन्द्र चहलले समान दुई-दुई विकेट लिँदा आवेश खानले एक विकेट हात पारे।

त्यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको राजस्थानले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १८५ रन जोड्यो। उसका लागि रियान परागले ४५ बलमा सात चौका र ६ छक्काको मद्दतमा अविजित ८४ रन बनाए।

त्यसका अलावा रविचन्द्रन अश्विन २९, ध्रुव जुरेल २०, सन्जु सामसन १५, जस बट्लर ११, यशस्वी जयसवाल ५ रन बनाएर आउट हुँदा सिम्रन हेटमायर १४ रन बनाएर नटआउट रहे।

सुरुमा दबाबमा रहेका राजस्थानले रियान पराज सेट भएपछि कमब्याक गरेको थियो। परागले पारीको अन्तिम ओभरमा तीन चौका र दुई छक्कासहित २५ रन जोडेपछि बलियो स्थितिमा पुगेको हो।

दिल्लीका खलिल अहमद, मुकेश कुमार, एनरिच नोर्टजे, अक्षर पटेल र कुलदीप यादवले समान एक-एक विकेट लिए।

जितसँगै राजस्थान दुई खेलमा चार अंकसहित तालिकाको दोस्रो स्थानमा हुँदा दिल्ली दुवैमा हारसहित अंकविहीन हुँदै आठौं स्थानमा छ।

आईपीएल अन्तर्गत आज रोयल च्यान्लेन्जर्स बैंग्लुरु र कोलकत्ता नाइट राइडर्सबीच बैंग्लुरुको एम चिन्नस्वामी स्टेडियममा साँझ ७ बजेर ४५ मिनेटमा खेल हुनेछ।

१६ चैत, २०८०, ०७:३४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।