आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो खेलमा पनि नेपाल विजयी

आयरल्यान्ड वुल्भ्सविरुद्धको दोस्रो खेलमा पनि नेपाल विजयी

काठमाडौं : आयरल्यान्ड वुल्भ्सविरुद्ध दोस्रो टी-२० खेल नेपालले ७१ रनले जितेको छ।

योसँगै नेपाली सिनियर टिमले आयरल्यान्ड वुल्भ्ससँगको दुवै खेल आफ्नो पक्षमा पारेको छ।

यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्यान्ड वुल्भ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रनमा अलआउट भयो।

आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे।

उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिए। त्यसअघि उनले ब्याटिङमा १३ बलमा ३४ रन जोडेका थिए।

सोमपाल कामीले २.३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए। कुशल भुर्तेल, विवेक यादव र करण केसीले पनि एकएक विकेट लिए।

त्यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोडेको थियो। गुल्शन झाले ४६, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ र सन्दीप जोराले २१ रन बनाएका थिए।

नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच टी-२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ। जसअन्तर्गत सुरुका दुई टी-२० खेल रोहितको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ। 

वुल्भ्सविरुद्ध अब बाँकी खेल भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ।

 

१३ चैत, २०८०, १६:३६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।