गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित, इजरायली प्रधानमन्त्रीद्वारा प्रस्तावित अमेरिका भ्रमण रद्द

गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित, इजरायली प्रधानमन्त्रीद्वारा प्रस्तावित अमेरिका भ्रमण रद्द

एजेन्सी : गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा ल्याइएको प्रस्ताव स्वीकृत भएको हो।

समाचार एजेन्सी एएफपीका अनुसार अमेरिकाले यस प्रस्तावमा भएको मतदानमा भाग लिएन भने चीन लगायतका ठूला देशले पक्षमा मतदान गरेका थिए।

चीनले सोमबार नै गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्ताव पेश गरेको जानकारी गराएको थियो।

यसअघि अमेरिकाले ल्याएको प्रस्तावलाई चीन र रुसले भिटो गरेका थिए।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनले यो मस्यौदा प्रस्तावलाई समर्थन गरेको बताए।

उनले यो प्रस्ताव तयार गर्न अल्जेरिया र अन्य अरब देशहरूको कडा मिहिनेतको प्रशंसा गरेको पनि बताए।

अक्टोबर ७ मा इजरायलमा हमासको हमलापछि गाजामा इजरायली हमलामा हालसम्म ३२ हजार २२६ जनाको मृत्यु भइसकेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उता, संयुक्त राष्ट्र सुरक्षा परिषद्मा अमेरिकाले आफ्नो पक्षमा नदेखिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रस्तावित अमेरिका भ्रमण रद्द गरेका छन्।

उनले यसअघि नै अमेरिकाको आफ्नो पक्षमा नउत्रिए भ्रण रद्द गर्ने धम्की दिइसकेका थिए। प्रस्तावको मतदानमा अमेरिकाकाले भिटो नलगाएपछि इजरायल क्रुद्ध बनेको हो।

तर, व्हाइट हाउसले भने मतदान प्रक्रियामा सहभागी नहुनु भनेको अमेरिकाको नीतिमा परिवर्तन हुनु नभएको बताएको छ। ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले पनि अमेरिकाले आफ्नो निर्णयबारे इजरायलसँग कुरा गर्ने बताएका छन्।

१३ चैत, २०८०, ०७:४४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।