९० हजार तलबको प्रलोभनमा महिलालाई​​​​​​​ ओमन पुर्याए, ३६ दिन यौनशोषण गरेपछि उल्टै अडाइ लाख मागेर नेपाल पठाइदिए

९० हजार तलबको प्रलोभनमा महिलालाई​​​​​​​ ओमन पुर्याए, ३६ दिन यौनशोषण गरेपछि उल्टै अडाइ लाख मागेर नेपाल पठाइदिए

काठमाडौं : बच्चा हेर्ने काम भन्दै ओमान पुर्याएकी महिलामाथि जबर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोपमा एक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाल्पाको तिनाउ गाउँपालिका -५ का विष्णुबहादुर राना पक्राउ परेका छन्।

पक्राउ परेका रानामाथि बच्चा हेर्ने कामका लागि भनेर महिलालाई ओमान पठाई ३६ दिनसम्म यौन शोषणमा लगाएको आरोप छ।

पीडित महिलालाई ३६ दिनसम्म कोठामै बन्धक बनाएर यौन शोषणमा लगाएको, नमानेमा कुटपिट गर्ने गरेको, खाना र पानी नदिने तथा एसी चिसो र तातो बनाएर शारीरिक यातना समेत दिने गरेको खुल्न आएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानबाट खुलेको छ।

पीडित महिलाको आर्थिक अवस्था निकै कमजोर रहेको पाइएको छ।

उनलाई ओमानमा घरमा बच्चा हेर्ने काममा मासिक ८० देखि ९० हजार रुपैयाँसम्म कमाइ हुने प्रलोभन देखाएर अभियुक्त रानाले भिजिट भिसामा ओमान पठाएका थिए। ती पीडित महिला सामान्य लेखपढ मात्रै जानेको हुँदा सहजै राणाको प्रलोभनमा परेकी ब्युरोद्वारा खुल्न आएको छ।

ब्युरोका अनुसार रानाले ती पीडितलाई गत भदौ २६ गते काठमाडौँबाट भिजिट भिसामा ओमानको मस्कट पुर्याएका थिए।

पीडित महिला ओमान पुगिसकेपछि रानाका साथीहरूले ती महिलालाई रिसिभ गरेर एजेन्ट अफिसमा लगेका थिए। त्यहाँ लगेर उनको मोबाइल र पासपोर्ट जफत गर्दै अन्य कागजातहरू च्यात्न लगाएको ब्युरोको अनुसन्धानबाट खुलेको छ।

त्यहाँ नेपालसहित अन्य देशका महिलाहरूसमेत रहेको बुझिन आएको ब्युरोले जनाएको छ।

पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले साढे दुई लाख रुपैयाँ मागेका थिए। त्यसपछि पीडितका श्रीमानको पहलमा उनीहरूले मागेको रकम तिरेका थिए।

उनी गत कार्तिक २ गते नेपाल फर्कन सफल भएकी थिइन्।

नेपाल फर्किएकी पीडित महिलाले रानाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा उजुरी हालेकी थिइन्।

अहिलेसम्म फरार रहेका राना खोजतलासका क्रममा गत शुक्रबार ब्युरोबाट खटिएको टोलीले बालाजुस्थित क्षेत्रबाट पक्राउ परेका हुन्।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दिन ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

१२ चैत, २०८०, २०:२०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।