पुटिनले मस्को आक्रमणको दोष हामीमाथि लगाउन खोजे : जेलेन्स्की

पुटिनले मस्को आक्रमणको दोष हामीमाथि लगाउन खोजे : जेलेन्स्की

एजेन्सी : मस्कोमा शुक्रबार भएको आतंकवादी आक्रमणको दोष आफूहरूमाथि लगाउन खोजेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आपत्ति जनाएका छन्।

शुक्रबार मस्कोस्थित एक कन्सर्ट हलमा भएको आतंकवादी आक्रमणमा संलग्नहरू युक्रेनतिर भाग्दै गरेको अवस्थामा समातिएको रुसी राष्ट्रपतिले बताएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आपत्ति जनाएका हुन्।

उनले रुसमा कसले आक्रमण गर्यो भन्ने प्रष्ट हुँदाहुँदै आक्रमणकारी युक्रेनतर्फ भाग्न खोजेको अभिव्यक्ति दिएर आक्रमणको आरोप युक्रेनतिर मोड्न खोजेको बताए। 

जेलेन्स्कीले भने, ‘शुक्रबार मस्कोमा के भयो, त्यो स्पष्ट छ। तर पुटिन र केही अन्य मानिसहरूले आक्रमणको दोष अरू कसैमाथि लगाउन खोजिरहेका छन्। वास्तवमा पुटिनले आक्रमणपछि आक्रमणकारी युक्रेनतर्फ भागिरहेको बताएका थिए।’

जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पुरानै चाल चलेर युक्रेनलाई आरोपित गर्न खोजेको बताए।

उनले भने, ‘यो आक्रमणपछि रुसी जनतालाई सान्त्वना दिनुको सट्टा पुटिन दिनभर मौन बसे। यसको दोष युक्रेनलाई कसरी लगाउने भनेर सोचिरहे।’

जेलेन्स्कीले रक्तपातपूर्ण आक्रमणपछि आफ्ना नागरिकलाई भरोसा दिलाउने काम गर्नुभन्दा पनि युक्रेनमाथि आरोप लगाउन पुटिन सक्रिय भएको जेलेन्स्कीको आरोप छ।

शुक्रबार मस्को नजिकै क्रोकस सिटी​ हलमा आतंकवादी आक्रमण हुँदा कम्तीमा १३३ जनाको ज्यान गएको थियो। रुसी राष्ट्रपति पुटिनले आक्रमणमा संलग्न चार जनालाई पक्राउ गरिएको बताएका छन्।

११ चैत, २०८०, १०:४८:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।