मानव तस्करीको नयाँ रुट : योजना युरोप-अमेरिका पुग्ने, वास्तविकता नेपालमा बन्धक बन्ने

मानव तस्करीको नयाँ रुट : योजना युरोप-अमेरिका पुग्ने, वास्तविकता नेपालमा बन्धक बन्ने

काठमाडौँ : ज्यानै जोखिममा पारेर युरोप अनि अमेरिका पुग्ने चक्करमा विभिन्न देशमा दलालहरूको फन्दामा परेर नेपाली नागरिक बन्धक बन्नु नौलो घटना रहेन। कतै हवाई मार्ग त अधिकांश स्थल मार्गबाट छ महिना लगाएर ५० लाखसम्म खर्चिएर अन्तमा नेपाल फर्किन बाध्य भएकाहरू बग्रेल्ती छन्।

यो अपराधको प्रसङ्ग भने नेपालीसँग हैन नेपालसँग जोडिएको छ। अपराधको कारण युरोप अनि अमेरिका पुग्ने नै हो। तर वास्तविकतामा भने उनीहरू नेपालमा बन्धक हुने गरेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार यस्तै एक घटना सार्वजनिक गर्यो।

पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटेलमा कार्यालयको टोलीले छापा मारेर चार जना बङ्गलादेशका नागरिक पक्राउ गर्यो। ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे प्रहरी हिरासतमा आइपुगे।

उनीहरूले बङ्गलादेशका नागरिकलाई विभिन्न युरोपेली देश पठाउने भन्दै नेपाल ल्याएर होटेलमा राखे। उनीहरूको उद्देश्य युरोप पठाउने थिएन। उनीहरूलाई होटेलमा राखेर उता बङ्गलादेशमा रहेका परिवारका सदस्यलाई धम्क्याएर रकम माग्न थालेपछि त्यसको सूचना कूटनीतिक च्यानलहुँदै नेपाल प्रहरीसम्म आइपुग्यो। अनि त्यसैको आधारमा अनुसन्धान गरेको प्रहरीले चार जना आरोपीलाई पक्राउ गर्यो।

प्रहरीले पीडितहरूको परिचय खुलाएको छैन। तर चार जना रहेको भन्दै सङ्ख्या भने खुलाएको छ। कार्यालयका अनुसार चार जना बङ्गलादेशी नागरिकलाई विदेश पठाउने लोभ देखाएर बङ्गलादेशी समूहले नै चैत पाँच गते नेपाल ल्याएको थियो।

नेपाल ल्याएर होटेलमा पुर्याएपछि उनीहरूलाई बन्धक बनाए। पासपोर्ट पनि खोसे। अनि उता बङ्गलादेशमा रहेका समूहका सदस्यलाई पैसा बुझाउन परिवारका सदस्यहरूलाई धम्की दिए। धन्न उनीहरूको उद्धार भयो।

बङ्गलादेशी मात्रै हैन, पछिल्लो समय अमेरिका जाने सपना देखाएर नेपाल आएका भारतीय नागरिकहरू काठमाडौँमै बन्धक बन्ने गरेका समेत छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विशेष अप्रेसन चलाएर भारतीय नागरिकलाई अमेरिका पुर्याउने भनेर काठमाडौँ ल्याएर एक घरमा बन्धक बनाएर राखेको अवस्थामा उद्धार गरेको थियो फागुन ३ गते।

प्रहरीले यो घटनामा अमेरिका जाने सपना बोकेर नेपाल आएर बन्धक बनेर बसेका ११ जना भारतीय नागरिकको उद्धार गरेर आठ जनालाई पक्राउ गरेको थियो।

प्रहरीले यो अप्रेसनको नाम ‘डंकी’ जुराएको थियो। गिरोहले अमेरिका जान लालायित भारतीय नागरिकहरूलाई प्रलोभनमा पारेर उतै जम्मा पारे। उनीहरूले भारतीय नागरिकहरूलाई सिधै नेपाल ल्याएनन्।

उनीहरूले अमेरिका लैजाने भनेर उनीहरूलाई भारतको नयाँ दिल्लीबाट दुबई, कतार पुर्याएर नेपाल ल्याए। नेपालको काठमाडौँमा उत्रिएपछि रातोपुलस्थित एउटा घरमा लगेर राखेर बन्धक बनाए।

शुक्रवार सार्वजनिक भएको अपराध शैली र अमेरिका लैजाने भनेर नेपाल ल्याएर भारतीय नागरिकलाई बन्धक बनाउने गिरोहको शैली उस्तै नै देखियो। उनीहरूले ११ जनालाई घरमा लगेर राखेपछि उनीहरूको राहदानी, मोबाइल, ल्यापटप लगायतका सामान नियन्त्रणमा लिए।

उनीहरूसँग प्रतिव्यक्ति तीन सय अमेरिकी डलर थियो। त्यो पनि गिरोहका सदस्यले नै लिए। अनि उनीहरूले अमेरिका जानेक्रममा समस्या आएको भन्दै उनीहरूको परिवारका सदस्यहरूलाई कल गराउँदै पैसा माग्न लगाउने गरेका थिए।

उनीहरू सबै नेपालमा थिए। तर मेक्सिको पुगेको र अब अमेरिका छिर्न ४० लाख रुपैयाँ लाग्ने भन्दै रकम माग्न लगाएका थिए। प्रहरीले सूचना पाएपछि घरमा छापा मारेर संलग्न भारतीयलाई पक्राउ गर्यो। बन्धकहरूलाई मुक्त गराएर भारत पठायो।

९ चैत, २०८०, १९:३०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।