सुदूरपश्चिममा फेरबदलको संकेत! काठमाडौंमा सक्रिय बने मुख्यमन्त्री शाह

सुदूरपश्चिममा फेरबदलको संकेत! काठमाडौंमा सक्रिय बने मुख्यमन्त्री शाह

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा सत्तारुढ दल एमालेले नयाँ समीकरणको लागि प्रतिपक्षी दलसँग आन्तरिक छलफल थालेपछि मुख्यमन्त्री कमलबहादुर शाह केन्द्रमा राजनीतिक सक्रियता बढाएका छन्। नेपाली कांग्रेसको संसदीय दलका नेता शाह एमालेको समर्थनमा सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री छन्।

गठबन्धनका दलहरुबीच बढ्दो असमझदारीका बीच एमाले विपक्षी दलहरूसँग नजिकिन थालेपछि बेचैन बनेका मुख्यमन्त्री शाहले सरकार बचाउन राजधानीमा नेताहरूसँग भेटवार्ता गरिरहेका छन्। बिहीबार एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवासमा पुगेर भेटेका शाहले शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा कांग्रेसका सभापति गगन थापालाई भेटे।

भेटमा प्रदेश सरकारको समीकरण र समसामयिक राजनीतिक विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ। आफू नेतृत्वको सरकार जोगाउने रणनीति अनुरूप उनी नेपाल कम्युनिस्ट पार्टीलाई पनि सरकारमा सहभागी गराउने चाहन्छन्। सोही विषयमा सभापति थापासँग छलफल गरेको बताइएको छ।

सुदूरपश्चिममा नेपाल कम्युनिस्ट पार्टी र एमालेबीच सहकार्यको संवाद भइरहेको छ। सत्ता साझेदार दलहरुबीचमा पनि सरकारको नेतृत्व परिवर्तन र मन्त्रिपरिषद् विस्तारका विषयमा सघन छलफल भइरहेको बताइएको छ। शाहलाई मुख्यमन्त्रीबाट हटाउन कांग्रेसको शीर्ष तहमै छलफल भएको खबर सार्वजनिक भएका थिए। यद्यपि कांग्रेस सभापति थापाले भने धनगढी पुगेर नै गठबन्धनमा तलमाथि नहुने भनेका थिए। 

सुदूरपश्चिममा आफू नेतृत्वको सरकार ढल्ने अवस्थामा पुगेपछि मुख्यमन्त्री शाह राजनीतिक परामर्शका लागि काठमाडौंमा रहेर सक्रियता बढाएका छन्। 

जेठ १, २०८३ शुक्रबार १५:३०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।