इस्लामावाद युनाइटेडलाई तेस्रो पटक पाकिस्तान सुपर लिगको उपाधि

इस्लामावाद युनाइटेडलाई तेस्रो पटक पाकिस्तान सुपर लिगको उपाधि

काठमाडौं : इस्लामावाद युनाइटेडले तेस्रो पटक पाकिस्तान सुपर लिगको उपाधि जितेको छ।

सोमबार राति कराँचीमा भएको फाइनल खेलमा मुल्तान सुल्तानलाई दुई विकेटले हराउँदै इस्लामावादले उपाधि जितेको हो।

मुल्तानले दिएको १६० रनको लक्ष्य इस्लामावादले ८ विकेट गुमाएर अन्तिम बलमा भेटटयो। इस्लामावादका मार्टिन गुपटिलले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ५० रन जोडे।

आजम खान ३०, नसीम साह र कोलिन मुन्रो १७–१७, अघा सलमान १० रन बनाएर आउट हुँदा इमाद वसीम १९ रनमा नटआउट रहे। हुनेन साहले अन्तिम बलमा चौका हानेर खेल जिताए।

मुल्तानका इफ्तिखार अहमद र खुस्दिल साहले समान दुई–दुई विकेट लिँदा डेभिड विल्ली, मोहम्मद अली र उसामा मीरले समान एक–एक विकेट हात पारे।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको मुल्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५९ रन बनायो। उसका लागि उस्मान खानले ४० बलमा सात चौका र एक छक्काको मदद्तमा ५७ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक मोहम्मद रिजवान २६ र खुस्दिल साह ११ रन बनाएर आउट हुँदा इफ्तिखार अहमदले ३२ रनको अविजित पारी खेले।

इस्लामावादका इमाद वसीम एक्लैले पाँच विकेट लिँदा कप्तान सादाव खानले तीन विकेट हात पारे।

इस्लामावाद युनाइटेडले यसअघि सन् २०१६ र २०१८ को पाकिस्तान सुपर लिग पनि जितेको थियो।

विजेता टिमले १२ करोड पाकिस्तानी रुपैयाँ पुरस्कार पाउँदा उपविजेताले ४ करोड ८० लाखमा चित्त बुझाएको छ।

६ चैत, २०८०, ०८:२८:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।