च्याम्पियन्स ट्रफी : भारतका खेलहरू युएईमा हुने सम्भावना, भारतीय टोली पाकिस्तान जानेमा शंका

च्याम्पियन्स ट्रफी : भारतका खेलहरू युएईमा हुने सम्भावना, भारतीय टोली पाकिस्तान जानेमा शंका

एजेन्सी : च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा हुनेछ। भारतले यहाँ खेल खेल्नेमा फेरि शंका उत्पन्न भएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले एशिया कप जस्तै ‘हाइब्रिड मोडल’मा आयोजना गर्न सक्ने एक मिडिया रिपोर्टले दाबी गरेको छ।

आईसीसी कार्यकारी बोर्डको एक स्रोतले समाचार एजेन्सी पीटीआईलाई भने, ‘यदि भारत सरकारले टीम इण्डियालाई पाकिस्तान पठाउन चाहँदैन भने आईसीसीले बोर्डलाई दबाब दिन सक्दैन। उसले विकल्प खोज्नुपर्छ। अहिले आईसीसी बोर्ड सदस्यहरूको बैठक दुबईमा चलिरहेको छ। यो विषय बैठकको एजेन्डामा समावेश नभए पनि सदस्यहरूबीच छलफल गर्न सकिन्छ।’

गत वर्ष पाकिस्तानले एसिया कप आयोजना गरेको थियो। जसमा भारतको आग्रहमा भारतका खेलहरू श्रीलंकामा आयोजना गरिएको थियो। त्यतिबेला पनि भारत पाकिस्तान नगएपछि ‘हाइब्रिड मोडल’मा यो प्रतियोगिता आयोजना गरिएको थियो।

कोलम्बोमा भएको फाइनल खेलमा भारतीय टोलीले श्रीलंकालाई १० विकेटले पराजित गर्दै उपाधि जितेको थियो। 

च्याम्पियन्स ट्रफीको वार्ता आईसीसी बैठकको एजेन्डामा नभएको तर पीसीबीका नवनिर्वाचित अध्यक्ष मोहसिन नक्वीले बीसीसीआई सचिव जय शाह र आईसीसीका शीर्ष अधिकारीहरूसँग कुरा गर्ने बताएका छन्। बैठकमा उनी शाह र आईसीसीक अन्य अधिकारीहरूसँग आश्वासन लिने प्रयासमा रहने बुझिएको छ।

आईसीसी बोर्ड सदस्यले प्रतियोगिताको मिति नजिकिएपछि मात्रै भारतीय बोर्डले निर्णय गर्ने बताएका छन्। तर युएईमा आयोजना गर्ने सम्भावनालाई पनि नकार्न नसकिने उनको भनाइ छ।

यद्यपनि ती सदस्यले च्याम्पियन्स ट्रफी एसिया कप जस्तो उपमहाद्वीपीय प्रतियोगिता नभई विश्वव्यापी प्रतियोगिता भएकाले भारत सरकारले लचकता अपनाउन सक्ने आशा समेत राखेका छन्।

एसिया कपका क्रममा भारतीय बोर्डका अध्यक्ष रोजर बिन्नी र उपाध्यक्ष राजीव शुक्ला पाकिस्तान गएका थिए।

पाकिस्तान जाने प्रश्नमा बीसीसीआईका पूर्व अधिकारीले अस्ट्रेलिया, न्यूजिल्याण्ड वा इङ्ल्यान्डको तुलनामा भारतीय क्रिकेट टोलीमाथि बढी खतरा भएको बताएका छन्।

‘वास्तवमा अहिले भारत र पाकिस्तानबीचको सम्बन्ध राम्रो छैन,’ उनले भने, ‘पाकिस्तानमा बसेका आतंककारीहरूले सधैँ भारतलाई मात्र निशाना बनाउँछन्। यस्तो अवस्थामा भारतीय खेलाडीलाई पाकिस्तानमा आतंकवादीबाट खतरा हुनसक्छ।’

यसअघि पाकिस्तानमा पनि श्रीलंकाली क्रिकेट टोलीमाथि आतंकवादी हमला भएको थियो। यद्यपि यस आक्रमणमा कुनै खेलाडी वा सहयोगी कर्मचारीलाई क्षति पुगेको थिएन।

३ चैत, २०८०, ०९:०५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।