खैरो हेरोइनको मुद्दामा फरार भएर कुवेत पुगेका रोशनलाई नेपाल फर्कायो प्रहरीले

खैरो हेरोइनको मुद्दामा फरार भएर कुवेत पुगेका रोशनलाई नेपाल फर्कायो प्रहरीले

काठमाडौँ :  लागूऔषध खैरो हेरोइन मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका इलाम नगरपालिका-१२ का २९ वर्षीय रोशन राई पक्राउ परेका छन्।

फरार राई कुवेतमा रहेको सूचनाको आधारमा नेपालको इन्टरपोलको नेशनल सेन्ट्रल ब्युरो(एनसिबी) ले उनीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो। नेपालको एनसिबीबाट जारी भएको रेड कर्नर नोटिसका आधारमा कुवेतमा रहेको इन्टरपोलको एनसिबीको समन्वयमा उनलाई नेपाल ल्याइएको नेपाल प्रहरीले जानकारी दिएको छ।

उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ बिहीबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

इलाम नगरपालिका-९ ठेगाना भएका २५ वर्षीय विकास बसेल समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन ३७ ग्राम ५ सय मिलिग्राम र डिजिटल तराजु १ थानसहित गत साउन २६ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका थिए।

अनुसन्धान एवम् सोधपुछको क्रममा लागूऔषधको कारोबारमा राई समेत संलग्न रहेको खुल्न आएपछि अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउका लागि नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट पुस २५ मा रेड नोटिस जारी भएको थियो।

नेपाल ल्याइएका राईलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरमा बुझाइएको प्रधान कार्यालयले जानकारी दिएको छ।  

१ चैत, २०८०, १३:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।