पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा, भुर्तेल एक्लैले लिए चार विकेट

पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा, भुर्तेल एक्लैले लिए चार विकेट

काठमाडौं : हङकङमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)लाई ८५ रनले हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ।

नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो।

जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो।

पपुवा न्युगिनीका हिरी हिरीले सर्वाधिक २८ रन बनाउँदा टोनी उरा १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

नेपालका कुशल भुर्तेलले चार, प्रतिश जिसीले दुई तथा गुलशन झा र आकाश चन्दले एक/एक विकेट लिए।

त्यसअघि मोङ्गकोङ्गमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले।

भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५९ रन बनाउँदा २६ बल खेलका जोराले ३ चौका र ४ छक्काको मद्दतमा ५६ रन जोडे।

त्यसबाहेक विनोद भण्डारीले २२ बलमा २७ रन बनाउँदा लोकेश बम ६ बलमा १४ रन बनाएर आउट भए। बमले दुई छक्का हिर्काए।

अन्तिममा ब्याटिङ गर्न आएका विवेक यादवले ४ बलमा तीन छक्काको मद्दतमा १९ रन जोडेर नटआउट रहे। गुल्सन झा पनि १२ बलमा १५ रन बनाएर नटआउट रहे।

आज आरिफ शेख र कप्तान रोहित पौडेलको ब्याट चल्न सकेन। उनीहरुले क्रमशः ४ र १ रन मात्र बनाए।

पिएनजीका कप्तान असद भालाले दुई विकेट लिँदा नोसैन पोकना, जोन कारिको र नोरमाना भानुवाले समान एक-एक विकेट लिए।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाको कारण रद्ध भएको थियो। पपुवा न्युगिनीले केही समयपछि आज नै हङकङसँग नै खेल्दैछ।

प्लेयर अफ दि म्याच कुशल भुर्तेल भए।

हङकङ र पीएनजीबीचको विजेताले बुधबार नेपालसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

२९ फागुन, २०८०, १०:३४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।