हङकङ टी२० सिरिज : जोरा र भुर्तेलको अर्धशतकमा नेपालले पिएनजीलाई दियो १९९ रनको लक्ष्य

हङकङ टी२० सिरिज : जोरा र भुर्तेलको अर्धशतकमा नेपालले पिएनजीलाई दियो १९९ रनको लक्ष्य

काठमाडौं : हङकङमा जारी टी२० क्रिकेट सिरिजमा नेपालले पपुवा न्यूगिनी (पिएनजी)लाई १९९ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो।

नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले।

भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५९ रन बनाउँदा २६ बल खेलका जोराले ३ चौका र ४ छक्काको मद्दतमा ५६ रन जोडे।

त्यसबाहेक विनोद भण्डारीले २२ बलमा २७ रन बनाउँदा लोकेश बम ६ बलमा १४ रन बनाएर आउट भए। बमले दुई छक्का हिर्काए।

अन्तिममा ब्याटिङ गर्न आएका विवेक यादवले ४ बलमा तीन छक्काको मद्दतमा १९ रन जोडेर नटआउट रहे। गुल्सन झा पनि १२ बलमा १५ रन बनाएर नटआउट रहे।

आज आरिफ शेख र कप्तान रोहित पौडेलको ब्याट चल्न सकेन। उनीहरुले क्रमशः ४ र १ रन मात्र बनाए।

पिएनजीका कप्तान असद भालाले दुई विकेट लिँदा नोसैन पोकना, जोन कारिको र नोरमाना भानुवाले समान एक–एक विकेट लिए।

पिएनजीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

सिरिजमा यसअघि भएको नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रोकिएको थियो।

२९ फागुन, २०८०, ०८:२३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।