सरोकारवालाको एकै स्वर : जलवायु परिवर्तन अनुसारका रोगहरूमा काम लाग्ने औषधि उत्पादन गर्नुपर्छ

सरोकारवालाको एकै स्वर : जलवायु परिवर्तन अनुसारका रोगहरूमा काम लाग्ने औषधि उत्पादन गर्नुपर्छ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपालको भूगोल, परिवेश, हावापानीमा हुने रोगहरूलाई काम लाग्ने औषधि उत्पादन गर्नुपर्ने बताएका छन्।

नेपाल औषधि उत्पादक संघ (एपोन) ले भरतपुरमा आयोजना गरेको ‘नवौँ फर्मा एक्स्पो २०२४’ को उद्घाटन गर्दै उनले एउटै औषधि धेरै कम्पनीले उत्पादन गर्न नहुने बताएका हुन्।

नेपालमा केके रोगहरू छन्, कस्ता औषधिको माग छ भन्ने कुरा अनुसन्धान गरेर औषधि उत्पादन गर्नुपर्ने उनको भनाइ छ।

उनले भने 'प्रतिष्ठित उद्योगलाई हानि-नोक्सानी नहुने गरी मार्केटिङ कल्चरलाई व्यवस्थित गरेर, चुहावट रोकेर लगानी उत्पादनमा बढाउनु पर्छ।' यसो गरिएमा मूल्य समायोजनमा ध्यान दिन सकिने देवकोटाको भनाइ छ।

सरकार र निजी क्षेत्रबीच खाडल रहेको भन्दै उनले खाडल छैन भनेर सकारात्मक रुपमा बुझ्नु आग्रह गरे।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एक्स्पोले हाम्रो औषधि उत्पादनको क्षमता प्रदर्शन गरेको बताए। व्यापार प्रतिस्पर्धा पनि भएको भन्दै उनले प्रतिस्पर्धाबिना विकास हुन नसक्ने बताए।

उनले भने 'सरकार र निजी क्षेत्र दुवै ले प्रतिस्पर्धा चाहन्छन्।' जाम्बियाका मेडिसिन रेगुलेटरी अथोरोटीका डाईरेक्टर माकोमानी सियान्गाले कार्यक्रमले नेपाल र लाम्बियाबीच सम्बन्ध जोडको भन्दै आफूहरू नेपालको औषधिसँग सहकार्य गर्न तयार रहेको बताए।

ज्ञान, सीप आदानप्रदान गरेर औषधि क्षेत्रमा काम गर्न सकिने उनको भनाइ छ।

एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधिका आधारभूत कुरामा अल्झन भन्दा विश्व बजारमा कसरी पुर्याउन सकिन्छ भन्नेबारे छलफल गर्नुपर्ने बताए। उनले नेपाली औषधि उद्योगमा उच्च स्तरको जनशक्ति समेत तयार भएको बताए।

त्यस्तै, एपोनका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले खुल्ला अर्थ बजारमा मूल्य नियन्त्रित नहुने भन्दै नेपालको खुल्ला बजारमा औषधिलाई नियन्त्रणमा राख्न नहुने बताए। उनले मूल्य बजारले नै निर्धारण गर्ने जनाए।

कार्यक्रमका अध्यक्ष एवं एपोनका अध्यक्ष महेश प्रधानले नेपालको औषधि अरू देशको भन्दा कम भएको भन्दै प्रश्न गरे 'एउटी उपकरण, एउटै कच्चा पदार्थ, त्यही विज्ञ समूहले बनाएको औषधि कसरी कमजोरी हुन्छ?'

उनले नेपालमै पाँच वटा उद्योगले उत्पादन गर्ने औषधि आयातमा निरुत्साहित गर्नुपर्ने बताए।

उनले भने, 'सरकारी स्तरबाट खरिद गर्ने औषधि नेपाली भएसम्म विदेशी खरिद नगरौँ।'

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीले औषधि उद्योगलाई दिगो बनाउन चुनौती रहेको बताए। उनले औषधि उद्योगलाई दिगो बनाउनका लागि नीति भन्दा पनि नियत खराब रहेकोले फस्टाउन समस्या रहेको बताए।

आयुर्वेद औषधि उत्पादक संघका अध्यक्ष सुमन पाण्डेले गुणस्तरमा हामी कहीँ पनि कमजोर नभएको भन्दै निर्यात कसरी गर्न सकिन्छ भन्नेमा ध्यान रहेको बताए।

नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) का अध्यक्ष प्रकाशकुमार खण्डेलवाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेल, एफिनका अध्यक्ष पदम खड्का, नेपाल केमिकल एण्ड मेडिकल सप्लायर्सका भक्त हमाल लगायतले कार्यक्रममा बोलेका थिए।

नेपाल फर्मास्युटिकल एसोसिसनका अध्यक्ष ललित मोहन पन्थले मन्त्रालयले सहजीकरण गरे उद्योग फस्टाउने बताए। नेपालको औषधि गुणस्तरीय रहेकोले बाहिर मुलुकलाई निर्यात गर्न आफू तयार रहेको उनको भनाइ छ।

संघले चितवनमा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ चितवन एक्स्पो सेन्टर भरतपुरमा आजदेखि २७ गतेसम्म ‘नवौँ नेपाल फर्मा एक्स्पो–२०२४’ को आयोजना गरेको हो।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन्। यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब (प्रयोगशाला), कच्चापदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ।

२६ फागुन, २०८०, २२:००:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।