रङ्गेली : ग्याङस् अफ वासेपुर, पुष्पा र एनिमलको घोलघाल पात्र, चक्कर लगाउने ट्विस्ट थोपरिएको कथा

रङ्गेली : ग्याङस् अफ वासेपुर, पुष्पा र एनिमलको घोलघाल पात्र, चक्कर लगाउने ट्विस्ट थोपरिएको कथा

उकेरामा प्रकाशित हुने फिल्म समीक्षामा आउने प्रतिक्रियाले देखाउँछ नेपाली दर्शकहरू कति माया गर्छन् नेपाली फिल्मलाई। उनीहरू नेपाली फिल्मको प्रशंसाले भरिएको समीक्षा पढ्न लालायित छन्। उनीहरू नेपाली फिल्म क्षेत्रको सकारात्मक विकास भएको पढ्न चाहन्छन्।

तर विडम्बना नेपाली फिल्मका दर्शकको यो इच्छा एकाध फिल्म बाहेक समीक्षकले पुरा गर्न सकेका छैनन्। यो समीक्षकको गल्ती हो त!

अम्बालाई स्याउ हो भनेर लेखिँदैमा अम्बाको मूल्य स्याउ बराबर हुन्छ र! त्यो त सिधै ठगी भइहाल्यो नि। ठगी गर्न सकिन्न। हामी अम्बालाई अम्बा नै हो भनेर लेख्छौँ अनि स्याउलाई स्याउ नै। न स्याउलाई अम्बा जस्तोजस्तो लेखेर दोधारे कुरा गर्छौ न अम्बा स्याउ जस्तोजस्तो लेख्छौँ। जस्तो छ त्यस्तै लेख्दा अब्बल फिल्म हुन्नन् भने त्यो समीक्षकको हैन निर्देशकको कमजोरी हो।

यति भूमिका बाँध्नुको कारण हो फिल्म रङ्गेली। किनकि यसलाई यसका निर्माण टिमले पनि स्याउ भनेर दाबी गरेर अम्बा फलाएका छन्।

कुनै पात्र भारतीय फिल्म 'ग्याङस् अफ वासेपुर'बाट चोर्नु त कुनै पात्र दक्षिण भारतीय फिल्म 'पुष्पा'बाट टिपेर गोलमटोल फिल्म बनाउनु नै नेपालको उत्कृष्ट फिल्म हुने मापदण्ड हो भने 'रङ्गेली' नेपालको उत्कृष्ट फिल्म हो।

यति मात्र हो र, फिल्मको कुनै फ्रेम चर्चित भारतीय सिरिज 'महारानी' को जस्तो देखिन्छ त कुनै 'एनिमल' को। पात्र भारतीय अनि दक्षिण भारतीय फिल्महरूबाट तानतुन पारेर जोडेर निर्देशक अर्जुन सुवेदीले नाम मात्रै रङ्गेली राखेछन्। 

उनले तराइको 'रङ्गेली' लाई आधार त बनाए तर अपराध कथा र पटकथासँगै पात्रहरू छिमेकी देशबाट सापट लिए।फिल्मको मुख्य फ्रेम ग्याङस् अफ वासेपुरबाट लिएर पात्र र कथा फरक बनाउन खोज्दा फिल्म गन्जागोल बन्यो।

अब फिल्ममा प्रवेश गरौँ।

भारतको सिमानासँग नजिक रहेको नेपालको मोरंगको रङ्गेलीमा हुने अपराधमा राज गर्न हुने मारकाट, उलटफेर नै फिल्मको मूल कथा हो। कथालाई अगाडि बढाउन निर्देशकले पात्र जन्माएका छन् विजय ( दयाहाङ राई), तोताभाई यादव (रुपेश झा), भगवान् भाइ यादव (अर्पण थापा), मानबहादुर ढकाल ( प्रवीण खतिवडा)। फिल्ममा मिस्री भाइ, केशरी भाइ, बिट्टु भाइ, पवन भाइ यादव लगायतका पात्रैपात्रै निर्माण गरिएको छ।

फिल्मको मूल पात्र विजय र भगवान् भाई देखिन्छन्। तर फिल्मलाई अगाडि बढाएका छन् मिस्रीलाल यादवको बदलाको कथाबाट। फिल्ममा उनको चरित्र सहायक देखिन्छ। तर कथामा मूलपात्र बनाउने असफल प्रयास गरेका छन् निर्देशकले।

अनाथ फेला परेको विजयलाई एक महिलाले घरमा ल्याएर पाल्छिन्। त्यही घरमा हुन्छन् तोताभाई यादव। बिरामी हजुरआमाको उपचार गर्न नसक्दा मृत्यु भएपछि यी दुवै बाल्यकालमै लाग्छन् रङ्गेलीतिर। अभावको जीवन समाप्त गर्न उनी रङ्गेलीमा हुने अपराधमा राज गर्न चाहन्छन्। विजयले रङ्गेलीमा राज गर्न के-के गर्छन् अनि को कसले कसरी भत्काउने प्रयास गर्छन् त्यही नै फिल्मको मूल कथा हो।

विजय बनेका  दयाहाङ राईको एकै लयको अभिनय भन्दा भिन्न चरित्र देखिन्छ 'रङ्गेली' मा। उनको चरित्र चित्रण जुन रूपमा गर्ने प्रयास भएको छ पर्दामा त्यो तहको प्रभावशाली देखाउन निर्देशक चुकेका छन्।

तोताभाई यादव  बनेका रुपेश झाको अभिनय गजब छ। विजयको सहयोगीको रूपमा उनको जसरी चरित्र चित्रण भएको छ उनले अभिनयमा लय बिगारेका छैनन्। उनी यो फिल्ममा दर्शकमाझ नोटिस्ड हुन सफल भएका छन्।

भगवान् भाइ यादव बनेका अर्पण थापाको लुक्स अनि अभिनय रङ्गेलीको राजा सुहाउँदो छ। भगवान् भाइको रूपमा मात्र हेर्दा अर्पणले चरित्रमा न्याय गरेका छन्। तर भगवान् यादवको रूपमा हेर्यो भने गेटअपले मात्रै उनको अभिनय धानेको छ। फिल्मको चरित्र चित्रण केवल गेटअपले मात्र पूर्ण हुन्छ र? त्यसमा लवज चाहिन्न? 

रङ्गेलीको यादवको बोली यति प्रस्ट पहाडेको जस्तै हुन्छ र! बोल्दा दुई-चार लाइन स्थानीय शब्द घुसाए पनि संवादमा अर्पणको चरित्र पूर्ण असफल छ।

कतिखेर हाफ टाइम हुन्छ भनेर दर्शकलाई दिक्क बनाउँछ। दोस्रो हाफमा फिल्मको कथाले गति त लिन्छ तर यति धेरै ट्विस्ट हालेका छन् कि निर्देशकले दर्शक अलमलिन्छन्। पात्रको चरित्र राम्रोसँग स्थापितै हुन नपाउँदै नयाँ आउने पात्रहरूको चित्रण विश्वासिलो नै देखिन्न।

प्रहरी निरीक्षक मानबहादुर ढकाल बनेका  प्रवीण खतिवडा जति समय पर्दामा रहेका छन् उनले निर्देशकले दिएको चरित्रमा न्याय गरेका छन्। उनको चरित्र हेर्दा दक्षिण भारतीय फिल्म 'पुष्पा' को भंवरसिंह शेखावतको झल्को आउँछ। निर्देशकले नै यस्तै चरित्र निर्माण गरेपछि उनको के दोष! भंगवरजस्तै देखिन उनले सक्दो मिहिनेत गरेका छन्।

फिल्मको सबैभन्दा कमजोर पात्र जुनकिरी बनेकी मिरुना मगरको देखिन्छ। फिल्ममा निर्देशकले यो पात्रका लागि जस्तो चरित्र निर्माण गर्ने प्रयास गरेका छन् त्यसमा निर्देशक र अभिनेत्री मिरुना दुवै असफल भएका छन्।

विजय बराल ग्यांस्स अफ वासेपुरमा कार्यक्रमहरूमा गीत गाउने कलाकार यसपाल शर्माको चरित्र जस्तै चरित्रमा छन्। विजय रङ्गेलीको जम्मा एक गीतमा देखिएका छन्। ग्यांस्स अफ वासेपुरमा यसपालको दृश्यहरू थपिएजस्तै विजयको सिनहरू अब रङ्गेलीको सिक्वेलमा थपिन सक्छ। मुख्यमन्त्रीको भूमिमा रहेका रमेश बुढाथोकी लगायतका अन्य पात्रहरूको अभिनय ठिकठिकै छ।

निर्देशकले मोरंगको रङ्गेलीलाई आधार बनाएर अपराध कथामा फिल्म बनाउने योजना त बनाए तर पात्रहरू स्वतन्त्र रूपमा निर्माण गर्न सकेनन्। पात्र निर्माणमा उनी ग्याङसअफ वासेपुरको शरणमा पुगे। कमसे कम सरदार खानले आँखामा लगाउने गाजल त रङ्गेलीको विजयलाई ल्याएर नलगाइदिएको भए नि हुने नि।

ग्यांस्अफ वासेपुरबाट पात्र त लिए तर उनीहरूको चरित्र उल्टाउन खोजे। ग्यांस्अफ वासेपुरमा सहिद खानको हत्यापछि उनको साथी नासिर सहिदको छोरा सरदार खानलाई वासेपुरबाट लिएर अर्कै ठाउँमा जान्छन्।

सरदार खान जहाँ जान्छन् त्यहीको अपराधको राजा बन्न संघर्ष गर्छन्। उनको संघर्षसँगै नयाँ पात्रहरू उनको छोराको रूपमा बढ्दै जान्छन्। सरदार खानको हत्यापछि वासेपुरमा राज गर्न उनका छोराहरू अगाडि बढ्दै जाँदा एकपछि अर्को मारिँदै जान्छन् र जिम्मेवारी आइपुग्छ फैजल खानमा।

रङ्गेलीमा हजुरआमाको मृत्युपछि विजय अनि तोताभाई गाउँ छाडेर रङ्गेलीमा जान्छन्। त्यही फेला पर्छिन् जुनकिरी। दुवैको माया बस्छ। तर सरदार खानको जसरी पाँच वटा सन्तान हुँदैनन् उनीहरूको।

रङ्गेलीमा राज गर्न चाहनेहरू एकपछि अर्को मारिदैजाँदा ग्याङ्स् अफ वासेपुरमा सरदार खानको परिवारले बदला लिन गरेको प्रयास रङ्गेलीमा भने मिस्रीलाल यादवतिर गएर जोडेका छन् उनले। अर्थात मूल खलपात्रका रुपमा भगवान् भाईको चरित्र निर्माण भएको छ। तर लगेर जोडिन्छ अर्कै पात्र मिस्रीलाल यादवमा।

अन्तिममा फिल्ममा ट्विस्टदिन निर्देशकले अन्तिममा जसरी नयाँ पात्रको जन्म गराएका छन् त्यसको इन्ट्री अनि ब्याक ग्राउन्ड म्युजिकले ट्वाक्कै एनिमलको झल्को दिन्छ।

फिल्मको मध्यान्तरसम्म कथा कसको हो अनि निर्देशकले के देखाउन खोजेका हुन् नबुझेर हैरान हुन्छन् दर्शक। रङ्गेलीको अपराधमा विजयको प्रभाव बढाउन खोज्दा निर्देशकले पहिलो हाफमा फिल्मको गति अति सुस्त बनाएका छन्।

कतिखेर हाफ टाइम हुन्छ भनेर दर्शकलाई दिक्क बनाउँछ फिल्मले। दोस्रो हाफमा फिल्मको कथाले गति त लिन्छ तर यति धेरै ट्विस्ट हालेका छन् कि निर्देशकले दर्शक अलमलिन्छन्। पात्रको चरित्र राम्रोसँग स्थापित हुन नपाउँदै नयाँ आउने पात्रहरूको चित्रण विश्वासिलो नै देखिन्न।

एकपछि अर्को ट्विस्ट दिँदै कथालाई अगाडि बढाउँदै निर्देशकले टक्क एनिमलको फ्रेममा नयाँ पात्र निर्माण गरेर फिल्म सक्काउँदा हलबाट उनीहरू' बल्ल सक्कियो' भन्दै बाहिरिन्छन्।

रंगेलीको अन्त्य सिक्वेल निर्माण गर्नेगरी भएको छ। अब बन्ने सिक्वेलका लागि निर्देशकले ग्याङस् अफ वासेपुर-२ हेर्ने त होला! नहेरे जाती। नेपालमै अर्ग्यानिक कथा जति पनि छन्। आवश्यक छ त मिहेनतको।

फिल्मको ब्याक ग्राउन्ड म्युजिक केही स्थान बाहेक राम्रो सुनिएको छ। तर पहिलो पटक सुनेको जस्तो लाग्दैन।

सम्पादनमा टन्न गडबड छ। जस्तो प्रतिस्पर्धी नेताको हत्या गरेर विजय र तोतालाला भागेको बेलामा प्रहरीको गाडी आएर ब्याक भएको सिन दोहोरिएको छ रिवान्ड शैलीमा। सम्पादनमा भएको गडबड ट्वाक्कै दर्शकले याद गर्छन्।

प्रारम्भमा विजयको चरित्र बिरोलोले आफ्नो गुहु लुकाए जस्तै आफ्नो प्रमाण लुकाउन सक्ने चलाख व्यक्तिको रूपमा परिचय दिएका छन् तोतेलाल यादव मार्फत तर उनको चरित्र डन बन्न सङ्घर्षरत सिकारुको जस्तो देखिन्छ। प्रहरीले खोज्दा भागेर बचेका उनी भोलीपल्टबाटै खुल्लमखुल्ला सडकमा हिँड्छन्। 

विजय बरालको चरित्र जसरी ट्वाक्क ग्याङ्स अफ वासेपुरको यसपाल शर्माको टिपिएको  तोतेलालको एक सिन पनि त्यही फिल्मसँग ट्वाक्कै मिलेको छ। 
विजय बनेका दयाहाङको साथी तोतेलाल प्रहरीबाट जोगिएर अर्कै गाउँमा लुक्न जाँदा एक युवतीप्रति आकर्षित भएको सिन र ग्याङस् अफ वासेपुरमा मनोज बाजपेयी जेलबाट भागेर लुक्न गएको घरमा भेट भएकी दुर्गासँग आकर्शितहुँदाको सिन ट्वाक्कै मिल्छ।

दत्तिउनको डाँठले दाँत माझ्दै कोलबाट पानी तानिरहेकी दुर्गासँग जसरी मनोज बाजपेयी आकर्षित भएका थिए यता रङगेलीमा तोतेलाल आकर्शित हुने सिन उस्तै छ। धन्न तोतालालको विवाह गराइदिएनन् यता निर्देशकले।

तोतालाल क्यारम खेलिरहेको बेलामा विजय कहाँबाट आइपुग्छन् दर्शकले पत्तै पाउँदैनन्। एक्कासि देखिन्छन् विजय। जुनकिरीको चरित्रमा मिरुनालाई फिट गराउन न लवाइमा ध्यान दिइएको छ न बोलाइमा। फाट्टफुट्ट थारु भाषा बोलेको आधारमा चरित्र स्थापित हुँदैन। त्यही चिउँडोमा थारु समुदायका महिलाले खोप्ने तीन वटा ट्याटुको थोप्लाकै भरमा चरित्रमा स्थापित हुन सकिन्छ र!

मिरुनाको चरित्रमा दिएको ट्विस्टले उनको लवज र लवाइमा न्याय गर्छ नि भन्न नि सकियो। तर उनी थारु समुदायकी युवती हो भन्ने विजयले कसरी विश्वास गरे त पहिला?

तीन वटा गीत  फिल्ममा राख्नुको कारण फिल्मको लम्बाई बढाउनु बाहेक अन्य औचित्य देखिन्न। रंगेलीको अपराधमा संलग्न सबै पात्र भेला पार्न एउटा आइटम गीत राखिएको छ। उनीहरू त्यहाँ किन भेला भएका हुन् खुल्दैन।

भारतबाट नेपालमा नक्कली भारतीय रुपैयाँ ल्याएर यता फैलाउने देखाइएको छ। हास्यास्पद नै यही हो। नक्कली भारतीय रुपैयाँको अपराध तथ्याङ्क हेर्ने हो भने भारतबाट नेपालमा नक्कली भारु हैन नेपालबाट भारतमा धेरै नक्कली भारु जान्थे। भारत सरकारले सबै पुराना नोट निष्क्रिय बनाएसँगै अहिले त्यो क्रम ठप्प बराबर छ।

नेपालमा नक्कली भारु हैन बरु भारतबाट नेपालमा नक्कली नेपाली रुपैंया आउनेक्रम बढेको छ। कथामा नक्कली नोटको कारोबार न चाहिएको हो। त्यसमा नक्कली भारुको साटो नक्कली नेरु राख्दा पनि कथामा के नै फरक पर्थ्यो र! कमसेकम भइरहेको अपराधबारे निर्देशकलाई थाहा रहेछ है भन्ने त हुन्थ्यो।

पहाड र हिमालको कथा भन्दै आएका नेपाली फिल्मका निर्देशकहरू अब मधेसको कथामा मिहिनेत गर्ने प्रयासमा छन् भन्ने गत साता रिलिज भएको अगस्त्य र यो साताको रंगेलीले देखाउँछ। फिल्म निर्माणमा निर्देशकहरुले मिहेनत पनि गरिरहेको देखाउँछ यी दुवै फिल्मले।

तर आफ्नै परिवेशको कथा देखाउन अक्कल लगाउनु भन्दा नक्कलतिर लाग्दा अनि कथा अनुसारको पात्र निर्माण र चरित्र चित्रणसँगै पटकथामा अलमल्लिदा फिल्मको नतिजा 'फुटबलमा पेनाल्टी पाएर गोल गर्न नसकेको हरुवा खेलाडी'को जस्तै अवस्थामा देखिएका छन्न दुबै फिल्मका निर्देशक।

रंगेलीको अन्त्य सिक्वेल निर्माण गर्नेगरी भएको छ। तर अब बन्ने सिक्वेलका लागि पनि निर्देशकले ग्याङस् अफ वासेपुर-२ हेर्ने त होला! नहेरे जाती। नेपालमै अर्ग्यानिक कथा जति पनि छन्। आवश्यक छ त मिहेनतको।

२६ फागुन, २०८०, १९:३९:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।