नवौँ फर्मा एक्स्पोको तयारी पूरा, पूर्वसन्ध्यामा अन्तर्क्रियात्मक गोष्ठी

नवौँ फर्मा एक्स्पोको तयारी पूरा, पूर्वसन्ध्यामा अन्तर्क्रियात्मक गोष्ठी

काठमाडौं : चितवनमा भोलिदेखि हुने नवौँ नेपाल फर्मा एक्स्पो २०२४ को पूर्वसन्ध्यामा आज औषधिजन्य क्षेत्रका जनशक्तिलाई लक्षित गरी अन्तर्क्रियात्मक गोष्ठी गरिएको छ।

नेपाल औषधी उत्पादक संघको आयोजनामा हुन लागेको फर्मा एक्स्पोको आज भरतपुरको दियालो फूडल्याण्ड र चितवन मिड टाउन रिसोर्टमा बजार प्रतिनिधिको लागि अन्तर्क्रियात्मक गोष्ठी गरिएको हो।

एपोनका क्वालिटी सर्कल संयोजक प्रशंसा श्रेष्ठका अनुसार औषधी उत्पादन क्षेत्रका प्राविधिक जनशक्तिलाई लागि पछिल्लो समय विश्वभर औषधी उत्पादन क्षेत्रमा भइरहेको मेसिन र प्रविधिको विकास बारेमा जानकारी गराइएको हो।

गोष्ठीमा देशभरबाट आएका विभिन्न औषधी कम्पनीका १५० जनाभन्दा बढी प्राविधिक जनशक्ति सहभागी थिए। गोष्ठीमा नेपाल र विदेशबाट आएका मेसिन सप्लायर्स र औषधी उत्पादक क्षेत्रबाट आएका वक्ताहरूले पछिल्लो समयमा औषधी उत्पादनका क्षेत्रमा विकास भइरहेका प्रविधि र मेसिनबारे जानकारी गराएका थिए।

गोष्ठीमा देशभरबाट आएका ८० जना मेडिकल प्रतिनिधि र ३५ जना क्षेत्रीय म्यानेजरको उपस्थिति रहेको थियो।

औषधी क्षेत्रको बजार प्रतिनिधिहरूलाई नियमित रुपमा क्षमता अभिवृद्धिको कार्यक्रम गरिए पनि एक्स्पोको अवसरमा संयुक्त रुपमा गरिएको गोष्ठीले एक आपसको कम्पनीको भाइचारा वृद्धि हुने बताइएको छ।

एक्स्पोको तयारी पूरा

नवौँ फर्मा एक्स्पो २०२४ को तयारी पूरा भएको छ।

नेपाल औषधि उत्पादक संघ (एपोन) ले आयोजना गरेको तीन दिने एक्सपोको तयारी पूरा भएको एपोनका वरिष्ठ उपाध्यक्ष एवं एक्स्पो संयोजक प्रभात रुङ्गटाले बताए।

संघले ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मुल नाराका साथ एक्स्पो आयोजना गरेको भन्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले नेपाली औषधि उद्योगको विकास र प्रवर्द्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्धतिका बारेमा एक्स्पोमा जानकारी पाइने बताए।

सर्वसाधारणले नेपाली औषधि कसरी बन्दछ, औषधिको गुणस्तर कस्तो छ? भन्ने कुरा जान्न र आफ्नो देशका औषधि उद्योगले कसरी अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग गरेका छन् भन्ने कुरा एक्स्पोबाट जानकारी पाउने उनको भनाई छ।

एक्स्पोमा १६० वटा स्टल राखिएका छन्। यसमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीन लगायत नौ देशहरूले उत्पादनमा प्रयोग गर्ने मेसिन-उपकरण, ल्याब (प्रयोगशाला), कच्चा पदार्थ र नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल राखिएको छ।

एक्स्पोमा उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइने छ।

एक्स्पोका लागि एल्माक प्याकेज प्रालि प्लाटिनम स्पोन्सर, एचभीएएक्स मेसिनरी प्रालि र प्यासिफिक लिमिटेड डाइमन्ड स्पोन्सर, एनपीएम मेसिनरी प्रालि, ज्ञानसान र स्याम टोयल प्याकेजिङ्ग गोल्ड स्पोन्सरको रुपमा रहेका छन्।

यसैगरी सिल्भर स्पोन्सर आदित्य इन्जिनियरिङ र एकुरेट्स मेसिन र कर्पोरेट्स स्पोन्सरमा आस्था इन्टरनेसनल मिडिया सपोर्टमा स्वास्थ्य पत्रकार मञ्च, डिजिटल पार्टनरमा खल्ती डिजिटल, इभेन्ट पार्टनरमा टोयोटा, एथर र टाटा मोटर्स, इभेन्टमा माइस नेपाल रहेका छन्।

२४ फागुन, २०८०, २१:०९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।