ज्ञानमतिको हत्यामा संलग्न एक पक्राउ, प्रेम सम्बन्धमा खट्पट आएपछि घटना भएको हुनसक्ने

ज्ञानमतिको हत्यामा संलग्न एक पक्राउ, प्रेम सम्बन्धमा खट्पट आएपछि घटना भएको हुनसक्ने

काठमाडौं : मोरङको पथरीशनिश्चरेमा भएको किशोरी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मोरङको ग्रामथान गाउँपालिका-४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार उनलाई बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउ परेका चौधरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले दाबी गरेको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि घटना भएको पाइएको प्रहरीको भनाइ छ।

यो पनि : आफूमाथि धारिलो हतियार प्रहार भएपछि चिच्याइन् ज्ञानमति, दाजु घटनास्थल पुगेपछि प्राण त्यागिन्

मामाको छोराको घरमा बसेर स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।

घटनाबारे अनुसन्धान गर्न स्थानीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरिएको थियो।

प्रहरीले विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो।

२२ फागुन, २०८०, १८:०१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।