‘पसल-पसलमा पैसा उठाउँदै हिड्नेहरू मन्त्रीको स्वास्थ्य विज्ञ भएपछि समस्या हुँदैन त!’

‘पसल-पसलमा पैसा उठाउँदै हिड्नेहरू मन्त्रीको स्वास्थ्य विज्ञ भएपछि समस्या हुँदैन त!’

काठमाडौं : सरोकारवालाहरूले औषधि गुणस्तर प्रयोगशाला परीक्षणका भरमा मात्रै कायम हुन नसक्ने बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको ‘औषधिको गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाहरूले औषधि गुणस्तर प्रयोगशाला परीक्षणका भरमा मात्रै कायम हुन नसक्ने बताएका हुन्।

त्यसका लागि प्रभावकारिताको पनि मुख्य भूमिका हुने उनीहरूको भनाइ छ। प्रयोगशाला जाँचमा ठिक भए पनि बिरामीले प्रयोग गर्दा ठिक नभए त्यसको गुणस्तर कायम हुन नसक्ने अन्तर्क्रियामा सहभागीहरूको मत छ।

‘परीक्षण गर्दा ठिक छ। मान्छेको शरीरमा गयो। काम गर्दैन’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले भने, ‘गुणस्तरका लागि औषधिको प्रभावकारिता एकदमै महत्वपूर्ण छ। केही समय काम गर्यो तर लामो समय काम गरेन भने त्यो गुणस्तर हुँदैन।’

औषधिको गुणस्तर कायम राख्न उत्पादनमा मात्रै नभएर ढुवानी र भण्डारणमा पनि ध्यान दिन आवश्यक रहेको महानिर्देशक ढकालले बताए।

सबै खाले स्वास्थ्य उत्पादनलाई काम गर्ने गरी औषधि सम्बन्धि नयाँ ऐनको मस्यौदा ड्राफ्ट भइरहेको भन्दै उनले प्रदेशलाई अधिकार दिने गरी काम भइरहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाले औषधि मानवस्वास्थ्यका लागि नभइ हुने भएकाले यसको उत्पादन, आयत, गुणस्तर, नियमन र स्थिरतामा ध्यान दिनुपर्ने बताए।

सरकारले निःशुल्क दिने ९८ थरीका औषधि मात्रै पनि नेपाली उद्योगले उत्पादन गरे राम्रो हुने उनको भनाइ छ। औषधि उद्योगका अन्य चुहावट बन्द गर्न सकेको खण्डमा पनि आर्थिक समस्या कम हुने देवकोटाको तर्क छ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधानले  ३५ वर्ष अघिदेखि सुरू भएको औषधि उद्योग अहिले टिक्क नसक्ने अवस्थामा पुगेको भन्दै उनले बाहिर बसेर औषधि उद्योगको पीडा बुझ्न नसक्ने बताए।

उद्योग टिक्नका लागि लगानीको २-३ गुणासम्म व्यापार हुनुपर्नेमा अहिले लगानीको आधा पनि व्यापार हुन नसकेको उनले गुनासाे गरे। ६०-६५ अर्बको लगानी गरेका उद्योगको नाफा ३ अर्ब मात्रै रहेकाले अवस्था नाजुक रहेको उनको भनाइ छ।

कार्यक्रममा नेपाल औषधि आयातकर्ता संघका अध्यष पवन आचार्यले नीति निर्माण तहमा रहेका व्यक्तिलाई औषधिको बारेमा बुझाउन समस्या रहेको बताए। स्वास्थ्य मन्त्रीका सचिवालयमा स्वास्थ्य र औषधि नै नबुझको व्यक्ति रहेको उनको आरोप थियो।

‘मन्त्रीको सचिवालयमा पसल-पसलमा पैसा उठाउने व्यक्ति स्वास्थ्य विज्ञका रूपमा रहन्छन्’ आचार्यले भने, ‘उनीहरूलाई गएर औषधि के हो, औषधि उद्योग के हो? भनेर बुझाउनुपर्छ कम्ति समस्या छ?’

२२ फागुन, २०८०, ०९:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।