‘अगस्त्य' : गाँठैगाँठा परेको पटकथा, वाकवाक लगाउने सस्पेन्स

‘अगस्त्य' : गाँठैगाँठा परेको पटकथा, वाकवाक लगाउने सस्पेन्स

रोटेपिङ अर्थात् 'रोलरकोस्टर। फनफनी घुमाउँदै माथि जाँदा मज्जाको अनुभव हुने, तल झर्दा कहाली लाग्ने। रिँगटा चलेर वाकवाकी लाग्ने, तिरमिर भएर वरिपरिका दृश्य धमिलो देखिने। पहिला रमाइलोका लागि चढिहालिन्छ। बिचमा झरी हालौँ जस्तो नि लाग्ने।

रोटेपिङ खेल्दा हुने यस्तै अनुभव स्थिर कुर्सीमा बसेर गर्न मन छ भने शुक्रवारबाट हलमा लागेको नेपाली फिल्म ‘अगस्त्य' च्याप्टर वान हेरे हुन्छ। निर्देशक सौरभ चौधरीले तराइको गोदना गाउँ र भारतको गोरखपुर जोडेर नेपाल-भारतबीचको मानव तस्करीसँग जोडिएको अन्तर्देशीय अपराधको कथा देखाउँदा कथा र पात्र यसरि फनफनी घुमाएका छन् कि दर्शकलाई मजा कम वाकवाक ज्यादा लाग्छ। उठेर हिँडौँ हिँडौ बनाउछ। चिथरौँ, चिथरौँ हुन्छ।

गोदना गाउँमा छन् भवानीसिंह त्रिपाठी( प्रमोद अग्रहरी), जसले आफ्ना तीन भाइ पिन्टु/पिंकु र विवेकमार्फत अपराधको साम्राज्य चलाएका छन्। उनको साम्राज्य भत्काउने प्रयासमा लाग्छन् सौर्य देव (सौगात मल्ल) र निसान (नाजिर हुसेन)। उनीहरूको मिसनमा मिसिन आइपुग्छिन् चिकित्सक चाँदनी (मलिका महत)। मुख्य पात्र यी नै हुन् फिल्मका। भवानीसिंहको अपराधको साम्राज्य भत्कन्छ या भत्कन्न? मुख्य कथासार यही हो फिल्मको।

मानव तस्करीसँग जोडिएको अन्तर्देशीय अपराधको मूल कथामा निर्देशक सौरभ चौधरीले सस्पेन्स फिल्म बनाउन भरमग्दुर प्रयास गरेका छन्। तर दृश्य भाषाका टन्न कमजोरीका कारण उनी सफल देखिएनन्।

साउथ इन्डियन फिल्मबाट प्रभावित देखिए पनि फिल्मको सबैभन्दा बलियो पक्ष क्यामरा वर्क देखिन्छ। फिल्मको प्रारम्भमा देखिने प्रमोदको छायाँको सट प्रभावकारी छ। द्धन्द्धलाई भव्य बनाउन निर्देशकले कन्जुस्याइँ गरेका छैनन्।

सौगातले यो फिल्ममा पनि आफ्नो चरित्रमा घुस्न भरमग्दुर मिहिनेत गरेका छन्। एक हदसम्म सफल पनि भएका छन्। नबोली देखिने उनको सुन्दर अभिनयले उनको समस्या अभिनयमा हैन, संवादमा हो भन्ने यो फिल्मले पुष्टि गरेको छ।

नाजिरले भर्सटायल कलाकार हुनसक्नेगरि आफूलाई उभ्याएका छन्। उनको सुधारिएको ज्यान सुहाएको छ। समस्या डायलग डेलिभरीमा देखियो। ज्यान बनाउन गरेको मिहिनेत संवाद सुधार्नमा लगाए उनको अभिनय यात्रा एनिमलबाट बबि देवलको बलियो कमब्याक भएजस्तै सुखद हुन सक्छ।

प्रमोद अग्रहरी आफ्नो पात्रमा जमेका छन्। उनको शैली र उनलाई दृष्यांकन गर्न गरिएको क्यामरा वर्कले साउथको दृश्यको झल्को दिन्छ। मलिका महतले आफ्नो चरित्रमा सक्दो न्याय गरेकी छिन्। छुस्सछुस्स देखिने अन्य पात्रहरू पनि बिझाएका छैनन्। फिल्ममा प्रयोग गरिएको तीन वटा गीतले कथालाई भड्काउँदैन। सान्दर्भिकै सुनिन्छ।

तर फिल्मको सबैभन्दा कमजोरी नै पटकथामा देखियो। कस्तो फिल्म बनाउन खोजेको? निर्देशक फिल्म निर्देशन अवधिभर अल्मलिदा फिल्म हेरुन्जेल हलमा दर्शक पनि अल्मलिन्छन्।

साउथ फिल्मका सिरिङ बनाउने हिंसात्मक दृश्यमा नेपाली दर्शकले बजाएको तालीको लोभले होला उनले साउथ स्टायलका द्वन्द्वका दृश्य राख्न कुनै कन्जुस्याइँ गरेका छैनन्।हिंसात्मक दृश्यका क्लोज सट प्रशस्तै प्रयोग गरेका छन्। नेपाली फिल्ममा कमै देखिने घाँटी रेटिने सिन त कति हो कति।

फिल्ममा सस्पेन्स यति घुसाएका छन् कि दर्शकको दिमाग फनफनी घुमाउँछ,रिँगटा चलाउँछ। त्यो रिँगटा निश्चित अवधिको भए दर्शकले मज्जाको अनुभव गर्न सक्थे कि! तर २ घण्टा ४० मिनेटको फिल्ममा सस्पेन्स थपेकोथप्यै गरेर घुमाउँदा दर्शकलाई उठौँ कि बसौँ भन्ने छटपटी गराउँछ। 

प्रेमी हो पनि हैन पनि, प्रहरी हो पनि हैन पनि, प्रेम छ पनि, छैन पनि। पागल हो पनि हैन पनि। यस्तै फनफनी घुमाउने प्लटहरू कति हो कति फिल्ममा। फिल्मको केन्द्रीय पात्र को हो? छुट्टाउनै मुस्किल पारेका छन् निर्देशकले। पात्रहरूको भूमिका यसरी बदलिएको छ कि दर्शकहरू तिरिमिरी हुन्छन् हलमा। अनि लाग्छ, फिल्म हो पनि हैन पनि।

सस्पेन्स फिल्म भनेको कथा र पात्र जेलाउनु त हो नि भन्ने शिक्षाबाट दीक्षित रहेछन् निर्देशक चौधरी।  तर सस्पेन्स फिल्म भनेको कथा र पात्र जेलाउनु मात्र हैन, कुनै विन्दुमा लगेर फुकाउनु पनि हो। यो चैँ बिर्सिएछन्।

पटकथा गाँठैगाँठा बनाएका छन्। अनि 'फुकाउन सकिन मैले' भनेर त्यतिकै छाडिदिएका छन्। अब निर्देशकले फुकाउन नसकेको गाँठो दर्शकले कसरी फुकाउनु!

नेपालबाट भारतमा महिला तथा बालबालिका बेचबिखन हुनुको कारण एकल छैनन्, विभिन्न छन्। कोही यौन व्यवसायका लागि तस्करीमा पर्छन्, कोही सर्कसका लागि त केही अङ्गका लागि। तेस्रो देशमा घरेलु कामदारका लागि हुने तस्करी थपिएको पनि धेरै भइसक्यो।

फिल्म 'अगस्त्य' मा महिला अनि बालबालिका भारतमा केका लागि बेचिएका हुन्? दुर्लभ रक्त समूहका भएकाले रगतका लागि?, मानव अङ्गका लागि? या देहव्यापारका लागि? प्रस्टसँग कतै खुल्दैन।

कुन पात्र हिरो हो अनि कुन पात्र भिलियन हो पत्तै हुन्न। हाफटाइमसम्म हिरो लाग्ने पात्र त्यसपछि भिलियन भइदिन्छ। किन? कारण खुलाउने टन्टा लिएका छैनन् निर्देशकले। एक अर्काका लागि ज्यान दिन तयार हुने मित्रता एकै पटक ज्यान लिने तहमा कसरी पुग्छ? 'ए सबै मैले नै बुझाउनु पर्ने!' शैलीमा यो बुझ्ने जिम्मा पनि दर्शकलाई नै छाडिदिएका छन् निर्देशकले।

फिल्म दृश्य माध्यम हो। कथालाई पूर्ण रूपमा दृश्यबाट बुझाउन नसकिए कतैकतै न्यारेसनको प्रयोग नहुने हैन। तर पुरै कथा वाचन शैलीमा राख्नु दृश्य भाषाको सबैभन्दा ठुलो कमजोरी हो।

निर्देशकले अगस्त्यको पटकथामा यति धेरै गाँठा बनाए कि आफैँले दृश्य भाषामार्फत ती गाँठा फुकाउनै सकेनन्। अनि बाध्य भएर फलानाले यस्तो गर्नुको कारण यस्तो हो नि भन्दै गीतीकथा शैलीको कथा वाचकको सहयोग लिए १० मिनेट जति।

त्यो बेलामा दर्शकले आँखा चिम्म गरेर गीति नाटक सुने जसरी फिल्म सुने हुन्छ, दृश्य हेर्न आवश्यकै छैन। सुनेरै बुझिन्छ 'ए त्यसले, त्यसलाई यसरी मारेको कारण यो रैछ' भनेर। सबैभन्दा बढी वाकवाक लाग्ने नै यहीँ बेलामा हो।

त्यो न्यारेसन पनि फिल्मको ९० प्रतिशत कथा सकिएपछि आउँछ। ९० प्रतिशत फिल्म हेर्दा पनि फिल्ममा भन्न खोजेको विषय दर्शकले दृश्यबाट बुझ्दैनन् भन्ने निर्देशकलाई पहिल्यै थाहा रहेछ, त्यसैले त फिल्म ९० प्रतिशत सकिएपछि वाकवाक लाग्ने लामो न्यारेसन राखे। नत्र किन?

फिल्मको ब्याकग्राउण्ड म्युजिकले दर्शकलाई फिल्मको दृश्यमा तान्दैनन् बरु झर्को लगाउँछ। निसानले सिनियर अफिसरलाई सर मोबाइलमा समाचार पढे भनेर देखाउँदा स्क्रिन अफ छ। सौगातले बर्गर टिप्प खोज्दा हातमा कुल्चँदा हातमा बर्गर हुन्न, तर पछि हातमुनि बर्गर देखिन्छ। कोर्ट रुम लागयतका स्थानमा ध्वनीमा गडबड सहित 'ह्याँ के देखाको के' भन्ने खालका साना-साना बिझाउने कमजोरी टन्नै  छन् फिल्ममा।

निर्देशकले फिल्मको पात्रलाई भारतमा कोभर्ट अप्रेसनमा पठाएका छन्। कोभर्ट अर्थात् परिचय बदलेर गरिने अप्रेसन। त्यो परिचय बदल्ने भनेको भेषभुषा मात्रै हो त? नेपालभित्रै आफ्नै स्वरुपमा गएको सूर्याले भारतमा किन स्वरुप बदल्नुपर्यो? कथा बोल्दैन।

फिल्मका पात्रहरूमा छक्क पार्ने चरित्रमा देखिएका छन् निश्चल बस्नेत। उनी जेलमा किन परे, किन भागे अनि भागेको समयमा के गरे? ती सबै बुझ्न अन्तिममा प्रहरी महानिरीक्षकको डायलग कुर्नुपर्छ। उनी फिल्ममा केमियो भूमिकामा छन्।

पछिल्ला फिल्महरूमा उनी निकै केमियो भूमिकामा देखिन थालेका छन्। तर अर्थ न बर्थको चरित्रमा। यसमा पनि उनको चरित्र फिल्ममा हल्का अनुहार देखाइहालौँ न भन्ने तहभन्दा माथिल्लो छैन। पछिल्लो समय निश्चलले आफ्नो छवि नार्सिसिस्ट बनाउँदै लुटबाट बनेको पहिचान लुटिरहेझैँ मात्र देखिन्छ भन्नेे थप उदाहरण यो फिल्म पनि भयो।

बरु ऋषि धमला अहिले सबै समाचारको फ्रेमबाट आउट भइसके। तर फिल्मको फ्रेमबाट निश्चल आउट हुन तत्काल सम्भावना देखिएन।

अन्तमा, निर्देशक सौरभले क्राइम सस्पेन्स जनारामा फिल्म बनाउने प्रयास गरेका हुन्। समस्या यत्ति मात्रै देखियो कि न उनले क्राइम बुझे न दृश्य माध्यमबाट देखाइने सस्पेन्सको शैली।

फिल्मको व्यापारिक नतिजा जे आए पनि उनले यसको सिक्वेल बनाउने घोषणा फिल्ममै गरिसकेका छन्। गाँठो बनाउने मात्रै हैन फुकाउने कला पनि सिकेर सिक्वेल निर्देशन गरे उत्तम।

२० फागुन, २०८०, २०:५७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।