तीन रेडकार्ड देखाइएको तनावपूर्ण खेलमा मिलानको संघर्षपूर्ण जित

तीन रेडकार्ड देखाइएको तनावपूर्ण खेलमा मिलानको संघर्षपूर्ण जित

एजेन्सी : नोआ ओकाफरको निर्णायक गोलमा सिरी ‘ए’मा एसी मिलानले आठ खेलाडीमा समेटिएको लाजियोमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ।

ओकाफरले खेलको ८८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। त्यसअघि गोलका प्रयासहरू भए पनि त्यसले परिणाम दिन सकेको थिएन।

कार्डको वर्षा भएको खेलमा नौ पहेँलो र तीन रातो कार्ड देखाउनु परेको थियो। जसमा तीनै रातो कार्ड घरेलु टोली लाजियोले पाएको थियो।

५७औं मिनेटमा घरेलु टोली लाजियो १० खेलाडीमा समेटिन पुग्यो। लुका पेलिग्रेनी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए।

मिलानले गोल गरेपछि खेल झनै तनावपूर्ण बन्दा रेफ्रीले लाजियोका एडाम मरुसिस र माटियो गुइनडोजीलाई सिधै रातो कार्ड देखाउँदा लाजियो ८ खेलाडीमा समेटिन पुगेको थियो।

जितसँगै मिलान २७ खेलमा ५६ अंकसहित तेस्रो स्थानमा हुँदा पराजित लाजियो ४० अंक जोडेर नवौं स्थानमा छ।

१९ फागुन, २०८०, ०८:३०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।