एन्फाले महिला फुटबल खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने

एन्फाले महिला फुटबल खेलाडीलाई जनही ५१ हजार रुपैयाँ दिने

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले वाफ च्याम्पियनसिपको फाइनल खेलेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई‌ जनही ५१ हजार रुपैयाँ दिने भएको छ।

साउदी अरेबियाबाट शुक्रबार साँझ स्वदेश आइपुगेको‌ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङले जनही ५१ हजार दिने घोषणा गरेका हुन्।

साउदी जानुअघि नै मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाेराम लामाले महिला टोलीलाई‌ १ लाख रुपैयाँ दिने घोषणा गरेका थिए।

नेपाली टोलीले बिहीबार राति पश्चिम एसियाली फुटबल महासंघ (वाफ) को आयोजना भएको वाफ च्याम्पियनसिपको‌ फाइनल खेलेको थियो।

नेपाल जोर्डनसँग पेनाल्टी सुट आउटमा ५-३ ले पराजित भएको थियो । प्रतिस्पर्धात्मक फाइनल निर्धारित समय २-२ को बराबरी सकिएको थियो। फाइनल अघिसम्म नेपाली टोली अपराजित थियो।

फाइनल सम्मको खेलमा १७ गोल गरेको थियो भने ४ गोल खाएको थियो। सावित्रा भण्डारी साम्बा ९ गोल सहित वाफको सर्वाधिक गोलकर्ता बनेकी छन्।

आठौं संस्करणमा जोर्डन छैटौं पटक च्याम्पियन बनेको थियो। नेपाल भने त्यो प्रतियोगितामा पहिलो पटक भाग लिएको हो।

सन् २०१० पछि साफ च्याम्पियनसिप, साग, हिरो कप, नादेज्दा कप र वाफमा गरि ११ वटा फाइनल खेल्दा नेपाली टोली च्याम्पियन बन्न सकेको छैन।

१९ फागुन, २०८०, ०७:२०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।