मेडिकल एक्सपोमा व्यवसायीले भारतबाट उपकरण तस्करी भयो भन्दै गराए गृहमन्त्रीको ध्यानाकर्षण

मेडिकल एक्सपोमा व्यवसायीले भारतबाट उपकरण तस्करी भयो भन्दै गराए गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै मेडिकल उपकरण निर्माणको पहल गर्न आग्रह गरेका छन्। बिहीबारबाट काठमाडौँमा सुरु भएको नेपाल मेडिकल एक्स्पो २०२४ मा बोल्दै मेडिकल उपकरण आयातमा निर्भरता हटाउन आग्रह गरेका थिए।

उनले मेडिकल उपकरणहरूको प्रदर्शनी हुनु सकारात्मक प्रयास भएको बताएका थिए।  उनले कार्यक्रममा नयाँ प्रविधि र आवश्यकतालाई प्रदर्शनीले एक आपसमा जोड्न सघाउने बताए।

एक्सपोमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन नेपाली व्यवसायीको आत्मविश्वास बढाउनु जरुरी रहेकोमा जोड दिएका थिए। ढकालले व्यावसायिक वातावरण बनाउने गरी नीति बनाउन सरकारलाई आग्रह गरेका थिए।

रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपाल (केमसान)का अध्यक्ष भक्त हमालले नेपाल र भारतबिचको खुला सिमनाका कारण व्यवसायीहरू प्रताडित भएको बताएका थिए।

खुल्ला सिमाना कारण अनधिकृत रूपमा न्यून मूल्यमा भन्सारबाट स्वास्थ्य सामाग्री नेपाल भित्रिएर तराई क्षेत्रमा प्रयोग हुने गरेको जानकारी दिँदै गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए। उनले मेडिकल उपकरणको तस्करी रोक्दा राजश्व बढ्ने र गुणस्तरीय सामाग्रीहरू आउने बताएका थिए।

बिहीबारबाट सुरु भएको एक्स्पो तीन दिनसम्म चल्नेछ। प्रदर्शनीमा नेपाल र भारतसहित विभिन्न ८ देशका उत्पादकहरूको ८ सय बढी ब्रान्ड र एक हजार बढी उत्पादन रहेको आयोजकले जानकारी दिएका छन्।

१७ फागुन, २०८०, १७:४८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।