फिल्म समीक्षा : ‘जारी’को झल्को दिइरहने ‘दयारानी’ मा थिचिएको नारी दृष्टि

फिल्म समीक्षा : ‘जारी’को झल्को दिइरहने ‘दयारानी’ मा थिचिएको नारी दृष्टि

नि: सन्तान हुनु लैङ्गिक हैन शारीरिक समस्या हो नि, जुन महिला अनि पुरुष जसमा पनि देखिन सक्छ। जबकी नि: सन्तान कारण देखाउँदै दोस्रो विवाह गरेका पुरुष हाम्रो समाजमा बग्रेल्ती भेटिन्छन्। तर नि: सन्तानको कारण दोस्रो विवाह गरेका महिला दुर्लभ छन्।

तथ्याङ्कै हेर्ने हो भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका लागि आएकाहरूको तथ्याङ्कमा आधारित रहेर गरिएको एक अध्ययनमा ५१ प्रतिशत महिला अनि ४५ प्रतिशत पुरुषमा नि: सन्तान सम्बन्धी समस्या देखिएको रहेछ। उता अमेरिकातिरको अवस्था के रहेछ भनेर हेर्दा ११ प्रतिशत महिला अनि ९ प्रतिशत पुरुषमा नि: सन्तानको समस्या हुने देखायो।

तथ्याङ्कले नै देखायो नि: सन्तान समस्या महिला अनि पुरुष दुवैमा देखिने समस्या हो। तर स्वास्थ्य परीक्षणपछि चिकित्सकले ‘समस्या तपाइँदा छ’ भन्दा पनि नामर्दको ट्यागको डरले श्रीमान् आफ्नै श्रीमतीलाई टोकस्न पछि नपर्ने हाम्रो समाजको यथार्थ।

प्रस्ट छ, यो शारीरिक समस्या हो। तर यसलाई शारीरिक भन्दा सामाजिक समस्या बनाउँदा पारिवारिक सम्बन्ध गन्जागोल भइरहेका छन्। महिलामा सन्तान जन्माउन नसक्नुको कारण मै मात्र हुँ भन्ने भ्रमले जरो गाँडेको छ। कमजोरी हुँदाहुँदै पुरुष खोक्रो मर्दपनमा छटपटिएरै बाँचेको छ।

यस्तै सामाजिक कथामा आधारित भएर बनेको फिल्म 'दयारानी' शुक्रवारबाट हलमा प्रदर्शन भइरहेको छ, जसका निर्देशक हुन् माओत्से गुरुङ।

माओत्सेले अभिनयमा आफूलाई प्रमाणित गरेर निर्देशनमा हात हालेको तेस्रो* फिल्मबाट सकारात्मक सङ्केत देखाउन सफल भएका छन्।  महिलालाई केन्द्रमा राखेर नि: सन्तान हुनुको पीडाबारे फिल्म बनिरहेकै छन्। उनले दयारानीमा पुरुषलाई केन्द्रमा राखेर पुरुषत्वको भ्रमले ल्याउने वितण्डा देखाउने प्रयास गरे।

कथाको दृष्टिकोणबाट यसलाई नयाँ प्रयासका रूपमा लिन सकिन्छ। ‘छोरा मान्छे भएर पनि रुने हो’ भन्दै पीडामा खुलेर रुन पनि नसक्ने बनाउने समाजले पुरुषलाई दुखमा दुखी भएँ भन्न सक्नेसम्मको आत्मबल समेत नदिएको पक्षलाई फिल्मले उजागर गरेको छ। 

आफ्नै कारण सन्तान नहुने भयो भन्दै दयारानी श्रीमानलाई आफ्नै बहिनीसँग विवाह गराउन आफैँ सक्रिय हुन्छिन्। श्रीमान-श्रीमतीको माया बाँड्ने तहको सम्बन्ध हैन र हुन्न। तर सन्तानका लागि महिलाहरू श्रीमानको माया अर्कोसँग बाँड्नसम्म राजी हुन्छन् भन्ने कोणलाई 'दयारानी' पात्रमार्फत राम्रैसँग समातेका छन् निर्देशकले।

ब्याकग्राउन्ड म्युजिक, कलाकारको गेटअप अनि फिल्मको खिचाइले ‘जारी’ हेरेका दर्शकलाई त्यसकै झल्को दिइराख्छ। बासुरीको धुनले 'दयारानी'मा 'जारी' फिल्मको झल्कोको मात्रा बढाएको छ। एक घण्टा ४० मिनेटको फिल्मको कथा भने काव्यिक लाग्छ।

दयाहाङ हुन या विजय बराल यी नाच्न जान्ने कलाकार हैनन्। अभिनय गतिलो गर्दैमा नाच्नु पनि पर्छ भन्ने पनि छैन। कलाकारको कमजोर पक्ष लुकाउँदै बलियो पक्ष देखाउनु निर्देशकको गुण हो। माओत्सेमा त्यो गुणको कमी देखियो। नत्र फिल्ममा दयाहाङ र विजयलाई जबर्जस्ती नचाउनुको कुनै कारण देखिँदैन। 

माओत्सेको यो पहिलो निर्देशन भएको फिल्म* हैन। उनले 'दयारानी' अगाडि गुरुङ भाषाको 'कृपा' र सिरसुबाको निर्देशन गरेका थिए। ६ वर्ष अगाडि उनले 'मनको बाबरी'  मार्फत नेपाली भाषाको फिल्मको निर्देशनमा डेब्यु गरेका थिए। 

लगत्तै उनले 'दयारानी' बनाएका थिए। यो फिल्म निर्माण सकिएको पाँच वर्ष कुरेर शुक्रबार रिलिज भयो। दोस्रो नेपाली फिल्मको लेखन र निर्देशनमा माओत्सेमा देखिएको क्षमताले 'यो उनले नै निर्देशन गरेको फिल्म  हो र! भनेर घोत्लिन भने बाध्य बनाउँछ।

कतै नाम माओत्सेको अनि काम चैं रामबाबु गुरुङको त हैन? शङ्का उब्जाउँछ। कारण यस अगाडि उनले निर्देशन गरेको फिल्मको स्तर अनि दयारानीमा निर्माताको रुपमा भित्रिएका रामबाबुले निर्माण गर्ने फिल्मकै फ्लेवरको निरन्तरता। यदि यो शङ्का मिथ्या हो भने नेपाली फिल्म क्षेत्रले थप एक गतिलो निर्देशक पाएको पक्का हो।

कास्की जिल्लाको मादी गाउँपालिकाको सेरोफेरोमा खिचिएको फिल्ममा चित्रजंग बनेका छन् दयाहाङ राई। फिल्मको प्रारम्भमै बन्दुकले घर छेवैको रुखमा बसेको चरालाई हान्दा नलागेको दृश्य देखाएर फिल्मको कथालाई बलियो सङ्केत गरेका छन् निर्देशकले।

विवाह गरेको पाँच वर्ष हुँदा नि: सन्तान हुँदाको छटपटी, परिवार र समाजको दृष्टिकोण अनि कमजोरीहीन भए पनि त्यागका लागि राजी हुने दयारानीको कथालाई बगाउन निर्देशक सफल देखिन्छन्।  

चित्रजंगको’एक नारी, ब्रह्मचारी’ चरित्रबाट सबै पुरुष मौका हेरेर नयाँ श्रीमती रोज्दै हिँड्दैनन् भन्ने पनि देखाएका छन् माओत्सेले।

यो फिल्मको बलियो पक्ष कथा र चरित्र निर्माण नै हो। छायाङ्कन र ब्याकग्राउन्ड म्युजिकले कथामा दर्शकलाई तानिराख्न निर्देशक सफल भएका छन्।

बाँसुरीको धुनले जारीको झल्को त दियो नै ग्रामीण परिवेशको कथा भए पनि दयाहाङको मनोटोनस गेटअप र एकै शैलीको खिचाइले दयाहाङका फिल्म हेरिरहनेलाई कुन फिल्मको सिन आइराखेको हो भन्ने अन्योल बनाउन सक्छ। 

दयारानीको भूमिकामा दिया पुन जमेकी छिन्। उनको अभिनय कलामा सुधार देखाउँछ दयारानीले। दयाहाङको मितको चरित्रमा रहेका विजय बरालले आफ्नो प्रशंसनीय अभिनय यात्रा टुट्न दिएका छैनन्। अन्य कलाकारको अभिनयमा विशेष उल्लेखनीय पक्ष भेटिँदैन।

साँझ पख होस् या फुर्सद होस् सन्तानहीन पात्रलाई रक्सी खुवाइरहन्छन् निर्देशक। फिल्मको नाम दयारानी राखे पनि फिल्म दयारानीको कथाबाट अगाडि बढ्न सकेको छैन। पुरुषको अहमताले नारीको खलबलिएको जीवनलाई मूल कथा बनाएका निर्देशकले दयारानीलाई कथाको मूलमात्र बनाउन गरेको कन्जुस्याइँ अनुभव हुन्छ। कथा लेख्दा माओत्सेमा पुरुषवादी सोच अलि हाबी भएको झैँ देखिन्छ।

फिल्मलाई अनावश्यक रूपमा तन्काउने प्रयास गरेका छैनन् निर्देशकले। तर कथा अपूरो छ। फिल्म प्रमोशनकैक्रममा दयाहाङलाई फिल्मको दोस्रो भागको कथा सुनाउँदा पहिला त्यही कथामा फिल्म बनाउन भनेको माओत्सेले दाबी गरेका थिए। पहिलो भाग इमानदारिताका साथ जहाँ टुङ्ग्याउनुपर्ने हो त्यही टुङ्ग्याएको तर त्यसले दोस्रो भागको माग गरेको भन्दै उनले यसको सिक्वेल बनाउने सङ्केत गरिसकेका छन्। तर सिक्वेल बनाउन कथालाई अपूरै छाड्नुपर्छ र? कथाको समापनमा निर्देशकको कमजोरी देखियो। 

दयाहाङ हुन या विजय बराल यी नाच्न जान्ने कलाकार हैनन्। अभिनय गतिलो गर्दैमा नाच्नु पनि पर्छ भन्ने पनि छैन। कलाकारको कमजोर पक्ष लुकाउँदै बलियो पक्ष देखाउनु निर्देशकको गुण हो। माओत्सेमा त्यो गुणको कमी देखियो। नत्र फिल्ममा दयाहाङ र विजयलाई जबर्जस्ती नचाउनुको कुनै कारण देखिँदैन। 

पुरुषले जे भने पनि महिलाले पत्याइदिन्छन् भन्ने कच्चा सन्देश दिए पनि माओत्से निर्देशकको रूपमा सकारात्मक सन्देश दिन सफल भएका छन् दयारानीमा।

*माओत्सले गुरुङले यस अगाडि नै दुई गुरुङ भाषाको र एक नेपाली भाषाको फिल्म निर्देशन गरिसकेको खुलेकाले दयारानी उनले निर्देशन गरेको पहिलो फिल्म भन्ने प्रशंग संशोधन गरिएको छ।

२८ माघ, २०८०, २२:००:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।