नर्सरीमा धेरै फूल फूलेको देख्दा दुखी हुने बालमाया !

नर्सरीमा धेरै फूल फूलेको देख्दा दुखी हुने बालमाया !

कोटेश्वरको व्यस्त सडकबाट भित्रभित्रै जाँदा अरुण नर्सरी देखा पर्छ। नर्सरीमा पस्दा अलग्गै ताजगीपन महसुस हुन्छ। तीन रोपनी जग्गामा बनेको नर्सरी जति ठूलो देखिन्छ, उति नै धेरै ठुलो रहेछ यहाँकी बालमाया पहरीको संघर्षको कथा। 

फूल फुल्ने मौसममा त उनलाई एकछिन पनि फुर्सद मिल्दैन। अरूबेला चाहिँ यसो घाम ताप्दै बिरुवा हेरेर बस्छिन्।

उनले नर्सरी सम्हालेर बसेको २५ वर्ष बितिसक्यो। यस अन्तरालमा उनले हजारौं बिरुवा उत्पादन गरिन् अनि बेचिन्। तर, अहिलेको जस्तो  व्यापारमा घाटा कहिल्यै अनुभव गर्नु परेको थिएन रे।

२०७२ सालको भुकम्पमा बेचिसकेको बिरुवा र गमला पनि फेरि उनको नर्सरीमै फर्किइयो। मान्छेहरू छतमा गमला राख्न डराए। घरले थेग्न नसक्ने भन्दै छिमेकीले समेत बिरुवा दिन थालेपछि नर्सरीमा ठाउँ नै भएन। 

'किन्न आउलान् भन्ठानेकी थिएँ तर, उल्टै उनीहरूले वर्षौदेखि राख्दै आएको बिरुवासमेत फिर्ता दिन आए। अनि काँ व्यापार हुनु!', उनले सुनाइन्।

बिस्तारै व्यापारमा सुधार हुँदै थियो। फेरि कोभिड -१९ को ग्रहण नमज्जासँग लाग्यो। उनले उत्पादन गरेको स-सानो बिरुवा अनि फूल सबै फक्रेर झर्दासमेत कोही किन्न आएनन्। 

'कोभिडमा बाहिर निस्कने कुरा भएन। जिन्दगीमा पहिलो पटक आफ्नै नर्सरीमा त्यति धेरै फूल फूलेको देखेकी हुँ,' उनले सुनाउँदै गइन्, 'त्यो भन्दा अगाडि त बिउ अनि सानो बिरुवा हुँदा नै सबै बिक्ने गर्थ्यो। त्यसबेला म रुन मात्र बाँकी थियो। घाटा भएर  गाह्रो भयो। फूल फूल्दा पनि दुखी भएको त्यही समयमा हो। त्यसबेला यहाँ फूलेको फूल बरु अहिले खोज्न आउँछन्। अहिले त काँ त्यसरी फूल फक्रेर बस्न पाउनु!' 

बालमाया ललितपुर जिल्लाको लेलेकी स्थानीय हुन्। आर्थिक अवस्था कमजोर भएकाले उनले धेरै पढ्न पाइनन्। चार कक्षा पढ्दापढ्दै पढाइ छुट्यो। अनि घरधन्दामै सीमित हुनुपर्यो।

८० हजारको बोन्साई।घरमै सीमित हुँदा उनले त्यति 'ठूलो सपना' पनि देख्न पाइनन्। १७ वर्षको उमेरमा  उनको विवाह नै भयो। उनको श्रीमान लेलेकै नर्सरीमा काम गर्थे।

'बिहेपछि जिन्दगीमा बिरुवासँग माया बस्यो'

बिहेपछि श्रीमानसँगै नर्सरी जाने क्रममा उनी विरुवाप्रति आकर्षित भइन्। उनले पनि अरूको नर्सरीमा काम गर्ने योजना बनाइन्। सुरुमा त उनलाई बिरुवा चिन्नै गाह्रो भयो। बिरुवालाई कुन हावापानीमा कसरी राख्ने, कुन समयमा पानी हाल्ने/नहाल्ने भनेर सिक्न उनलाई करिब दुई वर्ष लाग्यो। 

अहिले त बिरुवा सम्बन्धी कुनै प्राज्ञिक ज्ञान हासिल नगरे पनि उनीसँग कुनै प्रोफेसर भन्दा कम ज्ञान छैन। 

अहिले बिरुवाको स्याहारदेखि सम्पूर्ण व्यवहार, हिसाबकिताब सबै उनी आफैँ हेर्छिन्। उनको श्रीमानले लेलेमै बिरुवा उत्पादन गर्छन्। त्यहाँ उनीहरूले सात रोपनी जग्गामा बिरुवा लगाएका छन्। अनि यहाँको चाहिँ सम्पूर्ण काम बालमायाले नै सम्हाल्दै आएकी छिन्।

उनी यहीँ नर्सरीको कुनामा सानो टहरा बनाएर बसेकी छिन्, जसले गर्दा २४ औं घण्टा बिरुवाको स्याहारमा बिताउन उनलाई कुनै समस्या छैन। 

दुई वर्ष जति अरूको नर्सरीमा काम गरेपछि उनी आफैले नर्सरी खोलिन्। उनले २० हजार लगानी गरेर १८ आना जमिनमा नर्सरी सुरू गरेकी थिइन्। अहिले उनको नर्सरीमा सय भन्दा बढी प्रकारका बोटबिरुवा पाइन्छन्। फलफूल, फुलहरू र पछिल्लो समय तरकारीको बिरुवा पनि राखेकी छन्।

एकवर्षे र बहुवर्षे दुवै प्रकारका बिरुवा भए पनि सबभन्दा एक वर्षे बिरुवाहरू नै बढी बिक्ने गरेको उनले बताइन्। 

'फूलहरू नै हो धेरै खोज्ने,' उनले भन्दै गइन्, 'सिजन अनुसार विभिन्न फूलहरू लानुहुन्छ। सजावटको फूल अहिले धेरै आकर्षणमा छ।' 

नर्सरी चलाएको वर्षौ भए पनि उनलाई पानीको दुःखले भने अझै छोडेको छैन। महिनामा २५ हजार सम्मको त पानी मात्रै खपत हुने गरेको उनी बताउँछिन्। 

'खर्च पनि धेरै छ। पानी नै ट्यांकरका ट्यांकर लाउनु पर्छ। चैत-वैशाखको समयमा २/३ पटक हाल्नु पर्छ। माटो पनि त्यति नै महँगो छ। अरू त त्यति धेरै गाह्रो छैन,' उनले भनिन्।

'बर्खा याममा गाह्रो, सुक्खा याममा झन् साह्रो'

'बर्खाको समयमा पनि उनलाई त्यति नै गाह्रो हुने गर्छ। सडकको पानीले सबै बिरुवा नष्ट गरिदिन्छ', उनी भन्छिन्, 'रोडको पानी सबै भित्र आएर जमेर बस्छ। सबै पानी मेसिन चलाएर ढलमा हाल्नु पर्छ। यो एरियामै पानीको समस्या छ।' 

अब त विभिन्न चुनौतीबारे उनी अगाडि नै सतर्क हुन थालेकी छिन्। उपत्यका बाहेक बाहिरी जिल्लामा पनि उनले राम्रो ग्राहक बनाइसकेकी छिन्।

उनको नर्सरीमा १५ सय देखि ८० हजार सम्मको बिरुवा पाइन्छ। सबैभन्दा महँगो उनकोमा अहिले धुपीको बोन्साई छ, जुन २५ वर्ष लगाएर उनले तयार पारेकी हुन्। त्यसको ८० हजार पर्छ। त्यसलाई आकार दिन धेरै समय लागेको उनी बताउँछिन्। यस्ता बोन्साईहरूका ग्राहक ठूल्ठूला होटल तथा एम्बेसीहरू हुने गरेको उनले बताइन्। 

'अहिले त सजावटको बिरुवा नै धेरै जान्छ। लामो समय लगाएर आकार बनाएका बिरुवाहरू हुने भएकाले महँगा भएका हुन्मी' उनले भनिन्ले' चरा र मुटुको आकार दिएर पनि बोन्साईहरू बनाएका छौँ।घरभित्र सजावटका लागि राखिने बिरुवा पहिला देखिनै राम्रो व्यापार हुने गर्थ्यो।'

अहिले सामाजिक संजालमार्फत्  प्रचार भए पनि अपेक्षित व्यापार बढेको छैन। धेरै समय अघिदेखि जुन हिसाबले  बोन्साइको माग हुन्थ्यो अहिले पनि त्यही नै छ। तर, पछिल्लो केही समय यता फूलमा आकर्षण बढेको कारण केही वृद्धि होला कि भन्ने उनले सोचेकी रहेछिन्। 

'अहिले धेरै जाने भनेको फिस्टेल पाम, साइकस, एरिका, रेक्सोना, किङ्ग्पाम, स्यामेडोरा र फ़ोनेक्स हो। यी सबै कलेज, होटल, हस्पिटलबाट मगाउने गर्छन्,' उनले भनिन्।

उनले यहाँको भाडा महिनाको एक लाख तिर्ने गर्छिन्। पहिला सहजै तिर्न सक्ने अवस्था भए पनि आर्थिक मन्दीले गर्दा निकै गाह्रो भएको उनले अनुभव गरेकी छिन्।

'पुस-माघ र असार-साउनमा सधैं व्यापार कम हुन्छ। वर्षको चार/पाँच महिना अफ सिजन भए पनि घाटा हुने भन्ने त हुँदैन थियो। तर अहिले त के भाको हो कुन्नि! घाटैघाटा मात्र छ। सोचेर बस्यो भने त छोडौँ जस्तो पनि लाग्छ नि,' निराश हुँदै उनी भन्छिन्, 'तर, के गर्नु! अरू सीप जानेको छैन। पसल खोलौँ कि जस्तो लागेको पनि हो। फेरि व्यापारको हालत त्यस्तै त हो भनेर चुप लागेर बस्ने गर्छु।'

व्यापार हुने सिजन कहिले नसकियोस् जस्तो लाग्नु अनि व्यापार नहुने सिजन चाँडो भन्दा चाँडो सकियोस् भनेर उनलाई लाग्नु कुनै नौलो होइन। अहिले फुर्सद भएको बेला उनका छोराहरू समेत यसैमा सघाउने गर्छन्। तर, नर्सरी सधैं छोराहरूले सम्हाल्छन् भनेर चैं उनलाई विश्वास छैन रे!

उनले यहीँ काम गर्नुपर्छ भनेर भनेकी पनि छैनन्। छोराहरू पढिरहेको भएर जति सक्दो पढाइ नै गरोस् भन्ने उनी चाहन्छिन्। उनले दुई जना छोरा सँगै केही कर्मचारी पनि राखेकी छिन्।

छोराहरूले यसैलाई निरन्तरता नदिए पनि धेरैलाई उनले यो काम सिकाइ सकेकी छिन्। आजकल विद्यार्थीहरूलाई समेत यसबारे ज्ञान दिन पाउँदा उनी दङ्ग छिन्। विद्यार्थी मध्ये जो कोहिले पनि नर्सरी नै खोल्छन् कि भन्ने उनलाई आशा छ। त्यही भएर पनि आफ्नो कामप्रति उनी निकै खुसी छिन्। 

स्थानीय सरकारले घरेलु व्यवसाय गर्नेहरूलाई धेरै सुविधा दिने गरेको उनले पनि थाहा पाएकी रहिछिन्। तर सुविधा कसरी लिने, त्यसको लागि के गर्नु पर्छ भनेर थाहा नभएको उनले सुनाइन्। विभिन्न मेलाहरूमा आफ्नो बिरुवा र नर्सरीको प्रचार गर्न पुग्छिन् उनी। त्यहाँबाट केही नयाँ ग्राहकहरूसँग भेट हुन पाउँदा दङ्ग पर्छिन्। झन् उत्साहित भएपछि मन्दीसमेत बिर्सिन्छिन्। अनि जोसिएर काम गर्न थाल्छिन्।

'खुसी हुनै पर्यो नि। अर्काको काम गरेको भए पो! आफ्नै काम गरेको हो। अब त काम गर्न पनि गाह्रो लाग्दैन। काठमाडौँमा जग्गा भएको भनेकै यत्ति हो। त्यही भएर बढाउन नसके पनि घटाउन चैं सकिन्छ,' उनले हाँस्दै भनिन्, 'पहिला कुनै सपना थिएन। त्यही पनि यो काम गरियो। अब त छोराहरूको सपनाको लागि भए पनि काम गरेर बस्न पर्यो नि!'

२२ माघ, २०८०, १९:११:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।