क्यान्सर उपचारमा ‘कार-टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल, उपचारमा आउन एक वर्ष लाग्ने

क्यान्सर उपचारमा ‘कार-टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल, उपचारमा आउन एक वर्ष लाग्ने

काठमाडौँ : नेपालमा क्यान्सरको उपचारमा ‘कार–टी सेल थेरापी’को सफल प्रयोगशाला परीक्षण भएको सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सिआरएम) नेपालले सार्वजनिक गरेको छ।

शनिवार काठमाडौँमा अन्तरक्रियात्मक कार्यक्रममार्फत सिआरएमले उच्च प्रविधियुक्त मानिने यो उपचार विधिको नेपालमा पहिलो पटक प्रयोगशालामा सफल परीक्षण भएको जानकारी दिएको हो।

कार–टी सेल थेरापीलाई मानव प्रयोगमा ल्याउन अझै एक वर्ष लाग्ने चिकित्सक तथा यसमा संलग्न वैज्ञानिकहरूले बताएको आयोजक संस्थाले जानकारी दिएको छ।

क्यान्सरको उपचारमा हाल शल्यक्रिया, केमोथेरापी र रेडिएसन थेरापीजस्ता मुख्य उपचार विधि प्रयोगमा छन्। पछिल्लो समय बायोथेरापी उपचारविधि पत्ता लागेपछि क्यान्सर उपचारमा नयाँ उपचार विधिको सुरुवात भएको मानिन्छ।

बायोथेरापीमध्ये कार–टी सेल थेरापीको प्रभावकारिता विशेषगरी रक्त क्यान्सर उपचारमा प्रभावकारी देखिएको आयोजक संस्थाले बताएको छ।

अमेरिकाको नेश्नल क्यान्सर इन्स्टिच्युट र पेन्सिलभेनिया विश्वविद्यालयमा गरिएको कार–टी सेल थेरापीको अध्ययनमा ९० प्रतिशत भन्दा बढी ‘बि सेल’ क्यान्सरका बिरामी पूर्ण रूपमा निको भएको पाइएको  सिआरएम नेपालले जनाएको छ।

कार–टी सेल थेरापीलाई नेपालमा प्रयोगमा ल्याउन सिआरएम नेपालको स्थापना भएको आयोजक संस्थाले बताएको छ।

सिआरएम नेपालले हालसम्म संयुक्त राज्य अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (युएसएफडिए)बाट प्रमाणित सिडी–१९ को प्रयोगशालामा कार–टी सेलको सफलतापूर्वक परीक्षण गरेको सिआरएम नेपालले जनाएको छ। प्रयोगशालामा सफल कार–टी सेल थेरापीलाई गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) प्रविधियुक्त प्रयोगशालामा मानव प्रयोगका लागि उत्पादन गर्ने उद्देश्य रहेको सिएमआर नेपालले जनाएको छ।

अमेरिकी, जर्मन र ब्राजिली संस्थाहरूसँगको सहकार्य र सहयोगबाट कार–टी सेललाई दश गुणा कम खर्चमा नेपालमै उत्पादन गर्ने उद्देश्य रहेको संस्थाको दाबी छ।

२० माघ, २०८०, २१:१५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।