राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा, खर्च ५० लाख अनुमान

राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा, खर्च ५० लाख अनुमान

बुटवल : माघ २६ देखि फागुन २ सम्म रुपन्देहीको तिलोत्तमामा हुन लागेको राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ।

तिलोत्तमा २ योगिकुटी स्थित मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा हुन लागेको नवौँ मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले जानकारी दिए।

मञ्च निर्माण, टिकट काउन्टर, गेट निर्माण, शौचालय व्यवस्थापन, पार्किङ स्थलको व्यवस्थापनको काम अन्तिम चरणमा भएको उनले बताए।

करिब ५० लाख भन्दा बढी लागत अनुमान गरिएको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेश गरी १० टिमको सहभागिता रहने अध्यक्ष भण्डारीले बताए।

प्रतियोगिता राष्ट्रिय भलिबल संघको नियमानुसार सञ्चालन गरिने भएकाले सोही अनुसार व्यवस्थापन गरिएको क्लबका वरिष्ठ उपाध्यक्ष किशन चन्दले जानकारी दिए।

विगतभन्दा फरक र उत्कृष्ट खेलाडीबिच प्रतिस्पर्धा हुने भएकाले यस पटक दर्शकको चाप बढ्न सक्ने आयोजकको अनुमान छ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको उपाधिका लागि अन्तिम प्रतिस्पर्धा फागुन २ गते हुने छ। ६ दिन सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख १ रुपैयाँ, द्वितीयले १ लाख ५० हजार एक रुपैयाँ तथा तृतीय हुने समूहले १ लाख १ रुपैयाँ प्राप्त गर्ने छ।

यसैगरी अन्तिम चारमा पुग्ने समूहले ५० हजार १ रुपैयाँ नगद प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए। प्रत्येक खेलमा म्यान अफ द म्याच र विधागततर्फ समेत पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद, उत्कृष्ट सेटर, ब्लकर, सर्भर, डिफेन्स, स्पाईकर, प्रशिक्षक र अनुशासित खेलाडीलाई ५ हजार नगद दिइने संयोजक गुरुङले जानकारी दिए। खेल अवधिभर कुल २४ खेल हुनेछन्। खेल अवलोकनका लागि मैदानमा ३ हजार क्षमताको प्याराफिट निर्माण गरिएको छ।

प्रतियोगितामा सहभागी सम्पूर्ण टिमका लागि आवास, यातायात तथा दैनिक भत्ताको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। खेलाडीहरूका लागि खेल अवधिभर १ लाख रुपैयाँसम्मको दुर्घटना स्वास्थ्य बिमाको समेत गरिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले क्लबले आयोजना गरेको राष्ट्रिय प्रतियोगिता प्रदेशकै लागि गौरव भएको भन्दै परिषद्बाट सक्दो सहयोग हुने बताए।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरीले नगरपालिका भित्र हुन लागेको प्रतियोगिताको नयाँ सन्देश देशभर फैलने भन्दै खेल सञ्चालनका लागि पालिकाले सहयोग गर्ने बताइन्।

१९ माघ, २०८०, १९:५८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।